परमहंस योगसेवाको उद्देश्य, दृष्टि र लक्ष्यहरू
परमहंस योग सेवा परमगुरुदेव १००८ स्वामी नारायण गिरीको मानव कल्याणको उद्देश्य अनुरुप सद्गुरुदेव परमहंस आचार्य योगिराज बालकृष्णानन्द “मुक्तबुद्ध” ज्यूको संरक्षकत्वमा स्थापित एक आध्यात्मिक संस्था हो । स्थापनादेखि यस संस्थाले सत्सङ्ग, ध्यान, योग, प्राकृतिक चिकित्सा, ज्योतिषिय परामर्श आदि विभिन्न माध्यमद्वारा आध्यात्मिक चेतना अभिवृद्धि हेतु कार्यक्रम र शिविरहरू सञ्चालन गर्दै आएको छ । सञ्चालित कार्यक्रमहरू मार्फत देश तथा विदेशमा रहनु भएका लाखौँ भक्तजनहरु प्रत्यक्ष र परोक्ष रूपमा लाभान्वित हुनुभएको छ ।
प्राणीहरुमा सर्वोत्कृष्ट प्राणी मानवले विभिन्न खोज, अनुसन्धानमार्फत आफ्नो जीवनलाई सुविधा युक्त त बनाएको छ तर सूचनाको प्रवाहबाट मानिसले यथार्थ सत्य र भ्रमित सूचना बीचको अन्तरलाई निर्क्योल गर्न सकेको छैन । त्यसैले आफू जन्मेको घर–परिवार, जाति, धर्म, वर्ण र संस्कारबाट अत्याधिक प्रभावित भई साम्प्रदायिकतामा अल्झिरहेको छ । साम्प्रदायिक भावनाबाट माथि उठेर सनातन सत्यलाई ग्रहण नगर्दा सम्म आफू शरीर, मन, बुद्धिबाट अलग्ग चैतन्य स्वरूप आत्मा हुँ भन्ने बोध गर्न सकिँदैन र यथार्थ सत्य बोध नहुँदा सम्म परब्रह्म परमात्मासँग लय हुने मूल उद्देश्यबाट विचलित भइन्छ । त्यसैले यस संस्थाले जन्म–जन्मान्तरदेखि विषय वासनामा रुमलिरहेको जीवलाई सही दिशानिर्देश गर्नको निमित्त निम्न विभिन्न विधाहरूमा समन्वय गर्दै आएको छ:
- • शारीरिक, मानसिक र भावनात्मक स्वच्छता प्रदान गरी सुख, शान्ति र आनन्दमय जीवनयापन गर्ने शुत्र सिकाउने
- • अतियोग, लययोग, हठयोग, राजयोग, कुण्डलिनीयोग आदि विभिन्न योगका आयामहरू मार्फत आत्मालाई परमात्मासँग लय गराउने साधना–पद्धति सिकाउने,
- • ज्ञान र विज्ञानमार्फत मूल लक्ष्यबाट विचलित समाजलाई सही दिशानिर्देश गर्ने,
- • अनेक स्थूल र सूक्ष्म शारीरिक र मानसिक विकारहरूलाई योग, प्राणायाम, ध्यान र प्राकृतिक चिकित्सामार्फत निवारण गर्ने,
- • सत्सङ्ग र अन्तर्कृया मार्फत आध्यात्मिक जिज्ञासा र शंसयहरुलाई निराकरण गरी यथार्थ सत्य ज्ञानतर्फ उन्मुख गराउने,
- • प्रारब्धवश जीवनमा आएका बाधा–अड्चन ज्योतिषिय परामर्श मार्फत निवारण गरी जीवनयापनमा सहजता ल्याउने,
हाम्रो शाखाहरु
दिव्य तपोभूमि, थानकोट
काठमाडौं उपत्यकाको पश्चिम भागमा रहेको चन्द्रागिरि पर्वतको काखमा आश्रमको केन्द्रीय कार्यालय अति नै मनोरम स्थानमा अवस्थित छ । मानव जन्मको उद्देश्य परमसत्य, परमचैतन्य, अविनाशी शाश्वत सनातन परमात्माको परमबोध गर्नको लागि भएको छ, जन्म सफलताको लागि क्रियात्मक साधना सिद्ध गर्नको लागि आधुनिक ध्यान कुटीमा अभ्यास गराइन्छ । यहाँ वृद्धाहरूको लागि साधन गर्न वृद्धाश्रम, साधक-साधिका बस्ने भवन, प्रवचन हल रहेको छ ।
शाखा : भैसेपाटी, सैँबु
भैंसेपाटीको छयासीकोटमा स्थित स्थानीय बासी तथा आश्रमको सहयोगबाट प्रवचन हल निर्माण भएको छ । त्यहाँ स्थानमा प्रत्येक महिनाको दोस्रो शनिवार प्रवचन, समय-समयमा योग, ध्यान शिविर तथा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
प्राकृतिक चिकित्सा केन्द्र : ज्वागल
वि.सं. २०५० सालबाट ललितपुर मा.न.पा. वडा नं.१० ज्वागल स्थित धन्वन्तरि वाराही मन्दिरको हातामा अवस्थित सत्तलमा परमहंस योग सेवाद्वारा प्रवचन कार्यक्रम, प्राकृतिक चिकित्सा, योग, ध्यान, साधना शिविरहरू सञ्चालन हुँदै आएका छन् । हाल त्यहाँ नित्य बिहान योग अभ्यास, ध्यान अभ्यास तथा हरेक महिनाको पहिलो हप्ताको शनिवार सत्सङ्ग कार्यक्रम एवं समय-समयमा ग्रहशान्ति पूजाहरू सञ्चालन भइरहेका छन् ।
मुख्यशाखा तेलकोट
नगरकोटको वडा नं. १ सती देवीको तल्लो ओठ पतन भई पिचाशेश्वर महादेव र जाल्पादेवी प्रादुर्भाव भएको सिद्ध स्थानमा परमहंस योग सेवाको मुख्य शाखा अवस्थित छ । सदगुरुदेवको सदीक्षा बमोजिम २०५७ सालमा शिव शक्ति कोटी होम महायज्ञ लगाउने समयमा जाल्पादेवी मन्दिर, महादेव मन्दिर, ढुङ्गाको सिँडीको बाटो, दत्तात्रेय भगवानको ७ फिट उचाईको मुर्ति, प्रवचन हल तथा साधक साधिका बस्ने भवनहरुको निर्माण भएको छ । हाल त्यहाँ प्रत्येक महिनाको तेस्रो हप्ताको शनिबार सत्सङ्ग कार्यक्रम हुने गर्दछ ।
न्यूजिल्याण्ड शाखा
न्यूजिल्याण्डको अक्ल्याण्ड सहरमा योगसेवाको पहिलो अन्तर्राष्ट्रिय शाखा वि.सं. २०६४ सालमा त्यहाँ रहेका भक्तजनको सक्रियतामा स्थापना भएको हो । त्यहाँ हरेक बिहीवार सामूहिक भेला र महिनाको एक शनिवार सत्सङ्ग र भजन कीर्तनका कार्यक्रम सञ्चालन हुने गरेका छन्।