Frequently Asked Questions

परमहंस आचार्य योगिराज सद्गुरुदेव बालकृष्णानन्द “मुक्तबुद्ध" ज्यूको संस्थापक संरक्षकत्वमा वि.सं. २०४६ सालमा परमहंस योगसेवाको स्थापना भएको हो । ललितपुर म.न.पा. १० ज्वागलमा केन्द्रिय कार्यालय रहेको यो एक गैर नाफामूलक आध्यात्मिक संस्था हो ।
यो संस्था वैदिक सनातन धर्मद्वारा आध्यात्मिक ज्ञानका साथै जीवनयापनको विज्ञानको सम्बन्धमा मानिसहरूलाई विशुद्ध सेवा प्रदान गर्नमा समर्पित छ ।

सनातनको शाब्दिक अर्थ सदा रहने वाला, अर्थात् जसको न आदि छ ननै अन्त्य छ, जो नित्य छ, सर्वत्र परिपूर्ण छ,स्थिर छ, अचल छ । त्यही सर्वत्र परिपूर्ण नित्य तत्त्वलाई बोध गर्नु नै सनातन धर्मको मुख्य उद्देश्य हो । त्यस नित्य तत्वलाई विभिन्न धर्मगुरुहररूले आफ्नो-आफ्नो मत अनुरूप द्वैत, अद्वैत द्वैताद्वैत गरी विभाजन गरी आफ्नो परम्परा अगाडी बढाउनु भएको देखिन्छ । कसैले त्यही नित्य तत्त्वलाई ब्रम्ह, कसैले शिव, कसैले आत्मा, कसैले राम, कृष्ण, जीजस, अल्लाह इत्यादि नाम दिए । सनातन कुनै एक मार्ग अथवा सम्प्रदायको नाम होइन, सम्पूर्ण पथ, तथा मार्ग जहाँ गएर शान्त हुन्छन् त्यही समुद्र सनातन हो ।

जुन तत्त्वबाट यि सम्पूर्ण सृष्टि अस्तित्वमा रहन सफल भएको छ, सम्पूर्ण तत्वहरूको मूल स्वरूप नै सनातन तत्त्व हो । त्यही तत्व जुन तत्त्वबाट सम्पूर्ण सृष्टि प्रकाशित भएको छ त्यही तत्त्व सनातन हो ।

जसरी सम्पूर्ण नदीहरु अन्त्यमा समुन्द्रमा नै मिल्दछन्, त्यसरी सम्पूर्ण जीवात्माहरु अन्त्यमा ब्रह्ममा नै एकीभाव हुन्छन् । जीवात्मा स्वरुपमा रहेको आत्माले चौरासी लाख योनीहरुमा विचरण गर्दछ । ती चौरासी लाख योनीहरुमध्ये पनि मात्र चार लाख योनीहरुमा मनुष्य जुनी प्राप्त गर्दछ । मनुष्य जुनी बाहेक अन्य सबै योनीहरु भोग योनी हुन् । मनुष्य जुनीमा मात्र आत्माले देहको सहायताले भक्ति, ज्ञान र कर्म गर्न सक्दछ । त्यसैले मनुष्य जीवनमार्फत नै आत्मालाई ब्रह्ममा एकाकार गराउन प्रयत्न गर्नुपर्दछ । यदि यो जन्ममा पनि कम चेतना भएका प्राणीहरु जस्तै भोगमा रमण ग¥यौँ र यथार्थ सत्यतिर लागेनौँ भने यो अत्यन्त दुर्लभ जुनी खेर जान्छ । त्यसैले प्रत्येक मनुष्य त्रितापबाट मुक्ति पाई यथार्थ स्वरुपको ज्ञान गरी परब्रह्म परमात्मामा लय हुनु हाम्रो धर्म मान्नुको मुख्य उद्देश्य हो ।

यस संस्थाका केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरू रहेका स्थानहरू ज्वागल, थानकोट, तेलकोट वा सैँबु भैसेपाटीमा सद्गुरुदेव परमहंस आचार्य स्वामी बालकृष्णानन्द ‘मुक्तबुद्ध’ज्यूद्वारा हरेक शनिवार पालै पालो नियमित रूपमा प्रवचन सत्सङ्ग, भजन र आरती हुने गर्दछ । यस सत्सङ्ग कार्यक्रममा भाग लिइ विविध अध्यात्मिक ज्ञानको बारेमा जान्न तथा मनमा लागेका अनेकन अध्यात्मिक र व्यवहारिक जिवनका विवध पक्षका जिज्ञासाहरुको समाधान गर्न सकिन्छ ।

विभिन्न समस्याको सामना गरिरहेका र समस्या समाधानको उपाय थाहा नभएका व्यक्तिलाई ज्योतिष परामर्श उपलब्ध गराई देखिएका ग्रहदोष निवारणका लागि यस संस्थाबाट नियमित रूपमा संचालन हुने पूजा, हवन, रूद्रि, सर्वतोभद्र पूजा, नागपूजा सहितको विशेष ग्रहशान्ति पूजामा आफैँ सहभागी भई वा आफ्नो प्रतिनिधि मार्फत वा संस्थाबाटै खटिएका स्वयंसेवक मार्फत पूजा गराउने व्यवस्था भएकाले सो पूजामा सहभागि भई जीवनमा सफलता प्राप्त गर्न सकिन्छ ।

अन्य चिकित्सा विधिबाट उपचार गर्दा निरास वा रोग निको नभइ हैरान भएका बिरामीहरुका लागि यस संस्थाका संरक्षक सदगुरूदेव को विशेष परामर्श तथा रेखदेखमा दक्ष चिकित्सकहरूद्वारा प्राकृतिक चिकित्साका आधुनिक र प्राचिनतम अनेक विधिहरू जस्तै, माटो, पानी, एक्यूप्रेसर, भाइब्रेटर, योगासन, प्रणायाम, ध्यान, पूजा आदि विधिहरूबाट उपचार गर्ने गरिएकोमा हाल महामारी पछिको समयका लागि स्थगित गरिएको छ । निकट भविष्यमा पुनः सेवा सुचारु गर्ने कार्यक्रम रहेको छ । यसबाट असाध्य रोगहरूको उपचारको लाभ लिन सकिन्छ ।

यस संस्थाका विभिन्न शाखा आश्रमहरूमा नियमित रूपमा दैनिक योगासन तथा रोगानुसारका विशेष योगासन प्रशिक्षण तथा शिविरहरू संचालन भइरहेका हुन्छन् । ध्यान कक्षाहरु विशेष मुहुर्त, तिथी र पर्वहरू लक्षित गरी नयाँ र पुराना साधकहरुको लागि छुट्टा छुट्टै संचालन भइरहेको हुन्छ । समय समयमा हाम्रा आश्रम शाखा बाहेकका खुला मैदान, स्कूल प्राङ्गण एवं खुला स्थानमा निःशुल्क योग शिविरहरू संचालन हुने गरेका छन् । यसवाट जिज्ञासु भक्तजनरूले प्रत्यक्ष सहभागि भई लाभ लिन सक्नुहुन्छ ।

एकै पटकमा ४० जनालाई आवास सुविधा सहितको बेला बेलामा - ३ दिने, ७ दिने र १ महिनाको साधना - (योग तथा ध्यान) शिविर संचालन भइरहेको हुन्छ जसमा सहभागि हुनेले तोकिएको न्यूनतम शुल्क तिर्नु पर्दछ भने केहि सिट विपन्न वर्गका लागि निःशुल्क प्रवेशको समेत व्यवस्था गर्ने गरिएको छ । यसवाट आश्रममै बसेर छोटो, मध्यम वा लामो समयको साधना गर्ने अवसर पाउन सक्नुहुन्छ ।

साधना गर्न इच्छुक र जिज्ञासु नयाँ तथा पुराना साधकहरूलाई गुरु परपरामा आधारित विविध लाइनको शास्त्रोक्त विधि पुर्वकको दीक्षा दिइ सनातन सत्य धर्मको प्रचार प्रसार गरी मानव कल्याणको कार्य निरन्तर गर्ने गरिएको हुनाले नव प्रवेशि तथा पुराना साधक साधिकाहरूले प्रत्यक्ष लाभ लिन सक्नुहुन्छ । दीक्षित साधकहरूको साधनाको गहिराइ को मुल्याङ्कन गरी अझै उच्च स्तरको साधना गर्न नभै नहुने शास्त्रोक्त विधिपुर्वकका पुर्णाभिषेक, शाक्ताभिषेक, कौलाभिषेक आदि विशेष साधनाहरू संचालन भै सकेका छन् भने त्यस्तो आवश्यकता महशुस भएमा भविष्यमा पनि संचालन गर्न सकिनेछ जसबाट उच्च कोटिको ज्ञान, भुक्ति र मुक्तिको लागि समाधिज्ञानमा प्रतिष्ठित हुन सकिनेछ ।

सद्गुरूदेवबाट दिक्षा लिएका र ५० बर्ष उमेर पुगेका साधकहरूको लागि खान र बस्नको उचित प्रवन्ध भएको ईश्वरी ईरा बृद्ध साधना आश्रम संचालनमा रहेको र जम्मा एकै पटक २५ जना सम्म सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ । उक्त साधना आश्रममा निश्चित कार्यतालिका बमोजिमका कृयाकलाप संचालन हुनुका साथै स्वेच्छिक आश्रमको सेवा गर्न चाहानेहरूका लागि समेत कार्यक्रम समावेश गरिएको छ । यसवाट सद्गुरुबाट दिक्षित बृद्ध बृद्धा साधक साधिकाहरुले न्युनतम शुल्कमा शान्त र मनोरम वातावरणमा आफ्नो बाँकि जिवन साधनामय, भगवानमय बनाई जिवनयापन गर्न सकिन्छ ।

यस संस्थाका विभिन्न शाखा आश्रमहरूमा नियमित रूपमा दैनिक योगासन तथा रोगानुसारका विशेष योगासन प्रशिक्षण तथा शिविरहरू संचालन भइरहेका हुन्छन् । ध्यान कक्षाहरु विशेष मुहुर्त, तिथी र पर्वहरू लक्षित गरी नयाँ र पुराना साधकहरुको लागि छुट्टा छुट्टै संचालन भइरहेको हुन्छ । समय समयमा हाम्रा आश्रम शाखा बाहेकका खुला मैदान, स्कूल प्राङ्गण एवं खुला स्थानमा निःशुल्क योग शिविरहरू संचालन हुने गरेका छन् । यसवाट जिज्ञासु भक्तजनरूले प्रत्यक्ष सहभागि भई लाभ लिन सक्नुहुन्छ ।
१६ वर्ष उमेर पुगेका इच्छुक नेपाली नागरिकहरूले रित पुर्वकको निवेदन तथा तोकिएको शुल्क तिरी संस्थाको सदस्यता लिन सक्ने व्यवस्था गरिएको छ । संस्थाको सदस्यताका प्रकारहरू तपशिल वमोजिम रहेका छन्ः
१. साधारण सदस्य
२. आजीवन सदस्य
३. विशिष्ट सदस्य
४. श्रेयष्कर सदस्य
५. मानार्थ सदस्य
वैदिक सनातन धर्मलाई स्विकार गर्ने जुनसुकै जाती, लिङ्ग, र उमेरका मानिसले दिक्षा वा सदस्यता प्राप्त गर्न सक्छन् ।
साधनामा प्रवेशको लागि सद् गुरुबाट सर्वप्रथम गुरुपरम्परा अनुसारको दिक्षा लिएको हुनुपर्छ । दिक्षा लिई साधना सुरु गरिसकेपछि समय क्रममा प्रत्येकको योग्यता, क्षमता र लगन अनुसारको बिशेष ज्ञान तथा साधना पनि सिक्न सकिन्छ ।
अन्धकार (अज्ञान) लाई ज्ञानरूपी कृपा द्वारा प्रकाश गर्ने तत्त्वलाई गुरुतत्व भनिन्छ । भवसागर पार गर्न हेतु यही गुरु तत्त्व कृपाको अमृत वर्षाबाट शिष्यलाई जब प्रबल इच्छा हुन्छ तब उसले ब्रह्मविद् गुरु प्राप्त गर्दछ, तत्पश्चात आफ्नो अस्तित्वको रुपमा धारण गर्दछ उहाँलाई नै सद्‌गुरु भनिन्छ । जब सद्गुरुले सम्पूर्ण कर्मफल र अज्ञान हटाउनको निम्ति ज्ञान रूपी बीज प्रदान गर्नुहुन्छ, त्यसलाई ने दिक्षा भनिन्छ। अब दिक्षाको आवश्यकतालाई बुझ्नको निम्ति यसको क्रियात्मक पक्षलाई बुझ्नुपर्छ । जब गुरुबाट दिक्षा प्राप्त हुन्छ तब गुरूतत्व सँग नित्य सम्बन्ध स्थापित हुन्छ, आफ्नो स्वरूपको ज्ञान र परमात्मा प्राप्तिको मार्गमा दिक्षाको नै महत्वपूर्ण भूमिका हुन्छ । यही दिक्षाको धारणा गुरुद्वारा प्राप्त ज्ञान तथा विज्ञानको क्रियालाई नित्य निरन्तर अभ्यास द्वारा शिष्यको सम्पूर्ण अज्ञानको नास हुँदै शिष्यले परमतत्वलाई प्राप्त गर्दछ । हुन त कार्यकारण को सिद्धान्त मोक्षमा लागू हुँदैन, तर मोक्षको विरोधी बन्धन भएकोले हो त्यही बन्धनको कारण नै अज्ञान छ र अज्ञानको विरोधी ज्ञान हो। यसरी गुरुद्वारा प्राप्त दीक्षित ज्ञान परोक्ष रूपमा मोक्षको एकमात्र कारण हुन्छ ।
(१) सूचक गुरु :-सूचक गुरुबाट विश्वको भौतिक ज्ञान प्राप्त हुन्छ। जस्तै स्कुल, विश्वविद्यालयको गुरुहरू।
(२) प्रेरक गुरु : -प्रेरक गुरू धर्म के हो, अधर्म के हो जस्तो विषय र वर्णाश्रम धर्म, कुल धर्म, जाति धर्म जस्तो विषयमा ज्ञान दिएर सोही अनुरूप चल्न सिकाउने गुरु मानिन्छ ।
(३) बोधक गुरू:- बोधक गुरु भनेको पञ्चाक्षरी, द्वादशाक्षरी याने पञ्चदेवताको साथै अन्य देवताको मन्त्र दिएर उपासना गर्न लगाउने उपयुक्त दुई गुरूमध्ये यस गुरुलाई श्रेष्ठ मानिन्छ ।
(४) निषिद्ध गुरु:- निषिद्ध गुरु भनेको मारण, मोहन, वशीकरण उच्चाटन विद्या सिकाउने, भूत, प्रेत, विर, वेताल, राक्षसको उपासना गर्न सिकाउने याने यस विद्याबाट अरुको अहित हुने हुन्छ। यस्तो तिनै कालमा सिक्न हुँदैन ।
(५) विहित गुरू:- विहित गुरु याने संसार सुख दुःखको घर भएको नाशवान क्षणिक रहेको ज्ञान गराएर वैराग्यको बाटो देखाउने गुरू हो ।
(६) कारण गुरु :- कारण गुरु भनेको वेदान्तको महावाक्यको उपदेश दिएर संसाररूपी रोगबाट निवारण गराउने गुरु हो ।
(७) सद्‌गुरू : सद्‌गुरु भनेको शिष्यको सबै संशयहरू जडदेखि विनाश गर्नसक्ने जन्म, मृत्यु, जरा, व्याधिको निवारण गर्ने, वेदान्त सहित सिद्धान्तको ज्ञान भएको मन्त्र, तन्त्र, यन्त्र योग विद्याको विशारद विधिपूर्वक साधना गरेर पूर्णत्व प्राप्त गरेको, वैदिक, तान्त्रिक, यौगिक क्रियाको ज्ञान शिष्यलाई विधिपूर्वक सिकाउन सक्ने क्रमविधाको ज्ञाता याने क्रमिक दीक्षा दिन सक्ने शाक्ताभिषेक, पूर्णाभिषेक, पूर्णदिक्षा दिएर शिश्यलाई आत्माज्ञान, ब्रह्मज्ञान साथै व्यवहारिक ज्ञान दिई सिद्धहस्त बनाउन सक्ने, गुरुभक्त, योगात्मा, परोपकारी, आफ्नो महिमामा अवस्थित ज्ञानी नै सद्गुरु हुन् । यस्तो लक्षणबाटै हामी बुझ्न सक्छौ कि सद्गुरुको कति महत्व रहेको छ भनेर ।
सत् चिद् आनन्द आत्मा सनातन सत्य, नित्य परमात्माको स्वरूप हो । जाग्रत, स्वप्न सुषुप्ति अवस्थाको द्रष्टा स्वरूप रहने आत्मा तत्वलेनै सम्पुर्ण जिवलाई ऊर्जा प्रदान गर्दछ ।
सबै प्रकारको बन्धनबाट सदाको लागि मुक्त भई परमस्वतन्त्र हुनु नै मोक्ष हो । चार पुरुषार्थमध्ये अन्तिम तथा परम पुरुषार्थ मोक्ष जन्म तथा मृत्युको चक्रबाट सदाको लागि छुट्‌कारा पाई आफ्नो स्वरूपको लाभ गर्नु हो । हामीले आफ्नो मुल स्वरूपलाई भुलेर अनित्यतासँग गरिएको नित्य सम्बन्ध नै बन्धन हो जसदा आफुलाई संकिर्णतामा स्थित गराई सुख-दु:ख रूपी मोहमा मात्र रूमलिरहेको हुन्छौ भने यहि अनित्यसँगको सम्बन्धलाई छोडी नित्य तत्त्व ( आत्मा तथा परमात्मा ) याने संकिर्णताबाट व्यापक भावमा विस्तारीत हुनु र आफु त्यहि सर्वत्र परिपूर्ण स्वरूपको रूपमा बोध प्राप्त गर्नु नै परममोक्ष हो । यस स्थितीको लाभ बाट मात्र स्वतन्त्रता प्राप्त हुने गर्दछ जसको प्राप्ति योगद्वारा मात्र सम्भव रहेको छ ।