ईश्वर सदाशिव मूर्ति स्थापना

परमशिवको ईच्छा अनुरुप उहाँको दायाँ भागबाट प्रकट हुनुभएको सदाख्यदेव सदाशिवले ॐ लगायत ५० वर्ण मातृका नादको रुपबाट प्रकट गरि सात करोड मन्त्रको सृष्टी गर्नुभयो । साथै अनेकन् सृष्टीको बिस्तार गरि आफु ईश्वर सदाशिवको रुप धारण गरि समस्त प्राणिको हृदयस्थलमा अनाहद नादको रुपमा स्थित हुनुभएको छ । “ईश्वर सदाशिव” सम्पूर्ण प्राणीलाई जीवन प्रदान गर्ने, हृदयबासी र समस्त सृष्टीको बिस्तार गर्न बहुरुप धारण गर्नुभएको छ । स्वर्ण वर्ण, दाहिने हातमा जमरा, देव्रे हातमा शंख, स्वर्ण मुकुट, स्वर्ण वस्त्र र स्वर्ण आभुषणले सुसज्जित देदीप्यमान शरीर हुनुभएको, निर्मल तथा महान तेजोमय हुनुहुन्छ ।

लोक कल्याणार्थ सद्गुरुदेव परमहंस आचार्य योगिराज बालकृष्णानन्द 'मुक्तबुद्ध' ज्यूलाई दीक्षा, दिव्य दर्शन र परमज्ञान प्रदान गर्नुहुने “ईश्वर सदाशिव” को २० फिट अग्लो मूर्ति, यस धरामैं पहिलो पल्ट स्थापना हुन गईरहेको छ ।

परमलिङ्ग स्थापना

असंख्य ब्रह्माण्डको मूलस्वरूप परब्रह्म नै लिङ्ग स्वरूप हो । लिङ्ग नै समस्त सृष्टिको आधार हो र समस्त सृष्टीको विस्तार पनि लिङ्गमा नै प्रतिष्ठित छ। त्यसैले लिङ्ग विषयमा स्पष्ट ज्ञान गर्नु नितान्त आवश्यक छ । लिङ्ग नै सत्य स्वरूप, चैतन्य स्वरूप र आनन्द स्वरूप हो । सृष्टि, स्थिती, संहार, अनुग्रह र तिरोधान यी पञ्चकृत्यको मूल कारण पनि लिङ्ग हो । पहिलो परमात्मा अव्यय परमशिवको मूल स्वरूप नै परलिङ्ग हो, जो साक्षात् शिवस्वरूप नै हो । सृष्टिको आदिकारण, निमित्तकारण र सर्वकारण पनि परलिङ्ग हो । सृष्टिको समस्त विस्तार अनन्तः परलिङ्गमा नै लीन अर्थात् लय हुन जान्छ । प्रलयकालमा सारा सृष्टि र सत्ताहरू शक्ति अर्थात् ३५ औं तत्व शक्तिमा गएर एकीभूत हुन्छन । त्यो शक्ति शिवमा, शिव क्रियामा, क्रिया ज्ञानमा, ज्ञान इच्छामा, इच्छा, परमशक्तिमा र परमशक्ति परशिव तेजमा लय हुन पुग्छन् ।

तेन लिङ्गन्तु विख्यातं यत्र लीनं चराचरम् , समस्त सृष्टिको लय नै लिङ्गमा हुने गर्दछ ।

गुरु परम्परा अनुसार लिङ्गको विषयमा जान्नु नितान्त आवश्यक पर्दछ । पहिलो लिङ्ग नै परमलिङ्ग हो भने दोस्रो इत्तरलिङ्ग, तेस्रो वाणलिङ्ग र चौथो स्वयम्भूलिङ्ग हो । गुरू परम्परा अनुसार विशेषतः यी चार लिङ्ग को साधन गरेमा परमबोध र महानिर्वाण ज्ञान प्राप्त गर्न सहज रूपमा सफल भईन्छ । शिव पुराण अनुसार स्वयम्भू लिङ्ग नै भगवान शङ्कर हो भन्ने कुरा स्पस्ट लेखिएको छ । भगवान शिवजी आराधनाबाट प्रसन्न भएर भक्तकै इच्छा अनुरुपको वरदान ज्ञान, शक्ति, सामर्थ्य र विद्या प्रदान गरेपछि स्वयं नै लिङ्गको रूपमा रहनु भएको पाइन्छ ।

मुख्यतः विभिन्न भक्तहरुको उपासना अनुरूप द्वादश ज्योर्तिलिङ्ग प्रकट भइरहेको हुँदा ज्योर्तिलिङ्गको अगाडि ध्यान, जप, पाठ, पुजा, अर्चना, गर्दा भक्तको धर्म, अर्थ, काम, मोक्षको साथै परमज्ञान समेत प्राप्त भई परममुक्ति सहजै प्राप्ति हुने कुरा शास्त्रमा स्पष्ट उल्लेख गरिएको छ ।

नेपालमा भगवान पशुपतिनाथ ईशान, तत्पुरुष, अघोर, वामदेव, सद्योजात र कालाग्निरुद्र सहित षड्मुखी शिवको रूपमा र उहाँ नै पञ्चमुख शिवको रुपमा पनि रहनुभएको छ । त्यस्तै काठमाडौँको पश्चिम भेगमा रहेको चन्द्रागिरी पर्वतको काखमा चन्द्रागिरी-३ थानकोट स्थित परमहंस योग सेवा आश्रमद्वारा स्वयम्भू ज्योर्तिलिङ्ग सहित लुप्त रूपमा रहेको वाणलिङ्ग, इतरलिङ्ग र परमलिङ्ग (स्वयं ब्रह्म व्यापक परिपूर्ण ब्रह्म लिङ्ग को स्वरुप) को स्थापना इतिहासमा नै पहिलो पटक गर्न लागिएको छ । एकै स्थानमा यी चार महत्वपूर्ण लिङ्गको साथै ईश्वर सदाशिवको २० फिट अग्लो मूर्ति स्थापना पनि हुन गइरहेको छ । यो अति नै लुप्त र गुप्त ज्ञानलाई परमहंस योगसेवा आश्रम तथा समस्त भक्तजनहरूको सहयोगबाट निर्माण हुने भएको छ । ईश्वर सदाशिव लगायत चारैवटा लिङ्गको दर्शन, पुजन, अर्चन, जप, पाठ, ध्यान, योग गरेर जाँदा त्यस भक्तको परमगति प्राप्त हुन्छ । यसको साधन रहस्यको विज्ञान गुरुपरम्परामा नै निहित छ । तसर्थ यस महत्वपूर्ण कार्यको लागि सम्पूर्ण भक्तजनहरूबाट आवश्यक सहयोगको अपेक्षा पनि यस आश्रमले राखेको छ । हरि ॐ शिव