विशेष साधना तथा अभिषेक

.

विशेष साधना तथा अभिषेक (पुर्णाभिषेक, शाक्ताभिषेक, कौलाभिषेक इत्यादि)

दीक्षित साधकहरूको साधनाको उचाइ (गहिराइ) को मूल्याङ्कन गरी अझै उच्च स्तरको साधना गर्न नभै नहुने शास्त्रोक्त विधिपूर्वकका पुर्णाभिषेक, शाक्ताभिषेक, कौलाभिषेक आदि विशेष साधनाहरू सञ्चालन भइ सकेका छन् भने त्यस्तो आवश्यकता महसुस भएमा भविष्यमा पनि सञ्चालन गर्न सकिनेछ।

अभिषेक महत्व र महासाम्राज्यदीक्षा

महाशक्तिको उपासकहरूलाई शाक्त भनिन्छ । तन्त्र शास्त्रमा त्यस महाशक्तिको उपासना प्रणाली सविस्तार लेखिएको छ । अतएव तन्त्र शास्त्र नै शाक्तहरूको प्रधान ग्रन्थ हो । यसको अन्यतम नाम आगम शास्त्र हो । आगम कसलाई भनिन्छ ?

आगतं शिवक्त्रेभ्यो गतञ्च गिरिजामुखे । मतं श्रीवासुदेवस्य तस्मादागम उच्यते ॥ - रुद्रयामल

जो शिवमुखबाट निर्गत भएर पार्वतीको मुखमा अवस्थित रहन्छ र वासुदेव- सम्मत छ, त्यसलाई आगम भनिन्छ। आगम शास्त्र जब वासुदेव -सम्मत छ, तव यसको साथ वेदको कुनै असामञ्जस्य हुँदैन - यो निश्चित भयो । किन्तु आगमलाई सत् आगम नै सम्झनु पर्दछ । परम ज्ञानी सदाशिवले असदागमको निन्दा गर्नु भएको छ । यथा-

भावाभ्यां निशितं रक्तं सुराञ्चैव सुरेश्वरि ।
वर्णाश्रमोचितं धर्ममविचार्यार्पयन्ति ये ।
भूतप्रेतपिशाचस्ते भवन्ति ब्रह्मराक्षसाः ॥ - आगमसंहिता

भावार्थ यो हो कि जो वर्णाश्रमोचित धर्मको विचार नगरी महाशक्ति देवीलाई मांस, रक्त र मद्य अर्पण गर्दछ, त्यो भूत, प्रेत, पिशाच स्वरूप ब्रह्म राक्षस हो । यसै कारण शाक्तमा पनि सम्प्रदाय विभाग छ। शक्ति- उपासक गण (उपास्य-भेदबाट ) काली, तारा, जगद्धात्री, अन्नपूर्णा प्रभृति शक्ति -मूर्तिको उपासना गर्दछन्।

प्रथमतः उपासक सद्गुरुबाट मन्त्र ग्रहण गर्दछन्। दीक्षारहित मनुष्य पशुमा परिगणित हुन्छ, त्यसैले अदीक्षितहरूको समस्त कार्य नै वृथा छ। यथा-

उपचार सहस्त्रैस्तु अर्चितं भक्तिसंयुतम् ।
अदीक्षितार्चनं देवा न गृहन्ति कदाचन ॥

अदीक्षित व्यक्तिको भक्ति पूर्वक सहस्त्र उपचार-द्वारा अर्चना गर्नाले पनि देवगण त्यस अदीक्षितको अर्चना कदापि ग्रहण गर्नुहुँदैन।

यसै कारण यत्न पूर्वक गुरु - ग्रहण गरी साधक मन्त्र ग्रहण गर्दछन् । शक्ति मन्त्रको उपासक गणलाई दीक्षाको साथ साक्ताभिषेक हुनु कर्तव्य हो । यथा-

अभिषेकं विना देवि कूलकर्म करोति य ।
तस्य पूजादिकं कर्म अभिचाराय कल्पते ॥
अभिषेकं विना देवि सिद्ध विद्यां ददाति यः ।
तावत् कालं वसेद् घोरे यावच्चन्द्र दिवाकरौ ॥ - वामकेश्वरतन्त्र

अभिषिक्त भए विना जो व्यक्ति तान्त्रिक मतबाट उपासना गर्दछ, उसको पूजा-जपादि अभिचार स्वरुप हुन्छ । जो व्यक्ति अभिषेक रहित दश विद्याहरुको कुनै मन्त्रदीक्षा दिन्छ, त्यो मनुष्य जबसम्म चन्द्र, सूर्य र हन्छ तबसम्म घोर नरकमा पर्दछ ।

अतएव शाक्तहरूको प्रायः मत दीक्षा सहित शाक्ताभिषेक, त्यसपछि पूर्णाभिषेक, तदन्तर क्रमदीक्षा कर्तव्य हो । महादेवले भन्नुभएको छ :-

क्रमदीक्षाविहीनस्य कलौ न स्यात् कदाचन । -कामाख्यातन्त्र

कलियुगमा क्रम दीक्षाको विना कुनै हालतमा सिद्धि प्राप्त हुँदैन । उहाँले अरू पनि भन्नु भएको छ :-

यदि भाग्यवशाद्देवि क्रमदीक्षा च जायते ।
तदा सिद्धिर्भवेत्तस्य नात्र कार्या विचारणा ॥
क्रमदीक्षाविहीनस्य कथं सिद्धिः कलौ भवेत् ।
क्रम विना महेशानि सर्वं तेषां वृथा भवेत् ॥ -कामाख्यातन्त्र

कसैको भग्यवश यदि क्रमदीक्षा हुन्छ भने निश्चय नै सिद्धिको प्राप्ति हुन्छ - यसमा सन्देह छैन । क्रमदीक्षाको विना कलियुगमा कुनै मन्त्रको पनि सिद्धि हुदैन र जप - पूजादि सबै वृथा हुन्छ ।

१) मन्त्रदीक्षा - मन्त्रदीक्षा ग्रहण गरी नित्यकर्म, नैमित्तिक कर्म, काम्यकर्म र पञ्चाङ्ग पुरश्चरण गर्दछ अर्थात् इष्टदेवताको जति मन्त्रजप हुन्छ त्यसको दशांश हवन, हवनको दशांश तर्पण र तर्पणको दशांश मार्जन त्यसपछि अभिषेक र त्यसको दशांश ब्रह्मण भोजन गराई पुरश्चरण गर्नु पर्दछ ।

२) शाक्ताभिषेक - शाक्ताभिषेक लिएर वार, तिथि, पक्ष, मास, ऋतु, अयन, संवत्सर पुरश्चरण गर्दछ । नक्षत्र पुरश्चरण, ग्रह पुरश्चरण इत्यादि गरेमा धेरै नै शुभकारी हुन्छ ।

३) पूर्णाभिषेक - पूर्णाभिषेकको विषयमा शिवले शिवालाई यस प्रकारले भन्नुभएको छ :

पूर्णाभिषेकपूता ये मृताश्च कुलनायिके ।
पूनर्लब्ध्वोत्तमं जन्म गुरुणा शिवरुपिणा ॥
शुद्धा. पूर्णाभिषेकेण शिव सायुज्यदायिना ।
तेन मुक्तिं व्रजेयुस्ते शाम्भवी वाचमब्रवीत् ॥

पूर्णाभिषेकको विधानद्वारा जो शिष्य अत्यान्त पवित्र भइसकेको हुन्छ, यस शिष्य यदि मृत्यु प्राप्त भए पनि त्यो दुर्गतिमा प्राप्त हुदैन तथा ऊ पुनः अधम योनिमा उत्पन्न हुदैन । शिवरुप गुरुदेवद्वारा ऊ पूर्णाभिषेकले विशुद्ध हुन्छ । गुरु शिव सायुज्य दिनमा सामर्थ हुनुहुन्छ । यो भगवान् शंकरको अनुग्रह पूर्ण वचन छ की यस्तो निर्मल निष्पाप साधक अवश्य नै मुक्तिको भागी हुन्छ ।

कुलाचारैकनिरता गुरुभक्ता दृढव्रताः । पूर्णाभिषेकपूता ये ते मुक्ताश्चेह जन्मति ॥

कुलाचारमा एकनिष्ठ भावले निरत रहनेवाला गुरुदेवको भक्तिपूर्वक सेवामा निरन्तर र पूर्णाभिषेक प्रकृयालाई पार गर्नेवाला शिष्य जीवनमुक्त नै हुन्छ । उसको जन्म धन्य हुनजान्छ ।

पूर्णाभिषेकसहितो वेदशास्त्रर्थतत्ववित् । देवतागुरुभक्तस्तु नियतात्मार्चयेत् प्रिये ॥

दीक्षाको पूर्णता पूर्णाभिषेकले हुन्छ । त्यही साधक श्रेष्ठ मानिन जान्छ जसको पूर्णाभिषेक भई सकेको छ । यदि दीक्षा र पूर्णाभिषेकको साथ साथै त्यो वेद र शास्त्रको तत्वार्थ र निहितार्थको वेत्ता होस् एवं देवता तथा गुरुमा भक्ति राख्ने वाला होस् त भगवान् भन्नु हुन्छ की त्यो नियतात्मा रहेर सारा समय अर्चनामा नै लगाई दिनु, यसले उसको परम कल्याण हुन्छ ।

४) साम्राज्यदीक्षा - साम्राज्यदीक्षा लिएर उर्ध्वाम्नाय अधिकार परा प्रसाद मन्त्र अर्थात् अर्द्धनारीश्वर मन्त्र साधना, मन्त्र जप गर्नु पर्दछ ।

५) महासाम्राज्यदीक्षा - महासाम्राज्यदीक्षा लिएर योग र निर्गुण ब्रह्मको साधना गर्नु पर्दछ ।