शास्त्रोक्त विधि अनुसार दीक्षा

शास्त्रोक्त विधि अनुसार दीक्षा

साधना गर्न इच्छुक र जिज्ञासु, नयाँ तथा पुराना साधकहरूलाई गुरु परम्परामा आधारित विविध लाइनको शास्त्रोक्त विधि पूर्वकको दीक्षा दिइ सनातन सत्य धर्मको प्रचार प्रसार गरी मानव कल्याणको कार्य निरन्तर गर्ने गरिएको छ ।

पूर्ण अध्यात्म ज्ञानको लाभ हेतु, गुरुद्वारा शिष्यलाई प्रदान गरिने बीज लाई नै दीक्षा भनिन्छ। बारम्बार जन्म-मरणको चक्रमा घुमिरहेको जीवमा जब म दुःखमय संसारमा फस्नुहुन्न, मैले आफ्नो उद्धार गर्नुपर्छ भनी आफूलाई जान्ने तथा प्राप्त गर्ने इच्छा जागेपछि उसलाई यस बाटोमा अघि बढ्न गुरु आवश्यक पर्दछ। जब गुरुले शिष्यलाई स्विकार गर्नु हुन्छ तब उहाँले शिष्यलाई मन्त्र तथा ज्ञान प्रदान गरी मुक्तिको मार्गमा अधि बढ्न कृपा प्रदान गर्नुहुन्छ ।

उपचार सहस्त्रैस्तु अर्चितं भक्तिसंयुतम् ।
अदीक्षितार्चनं देवा न गृहन्ति कदाचन ।। - आगमसंहिता

कुनै व्यक्तिले भक्तिपूर्वक हजारौं उपचारद्वारा देवताको पूजा अर्चना गरेतापनि यदि उ अदीक्षित छ भने देवताहरूले उसको पुज-अर्चना ग्रहण गर्नुहुँदैन । तसर्थ दीक्षित व्यक्तिलाई मात्र यस अध्यात्म मार्गमा अगाडि बढ़्न अधिकार प्राप्त हुन्छ । तब मात्र साधक आफ्नो जीवत्व भावलाई ध्यान तथा ज्ञानद्वारा नाश गरी शिव भावमा पुग्दछ ।

यस आश्रममा पनि सद्‌गुरुदेवबाट विभिन्न समयमा अनेकन् आध्यात्मिक मार्गको गुरु शिष्य परम्परामा आधारित विविध लाइनको शास्त्रोक्त विधि अनुसार दीक्षा प्रदान गर्नुहुन्छ । दीक्षा धेरै प्रकारको हुने गर्दछ । सद्गुरुदेवबाट शास्त्रोक्त विधिद्वारा क्रम योगको दीक्षा, आत्मा ज्ञान तथा ब्रम्ह ज्ञान प्रदान गर्नुहुन्छ। साथै साधकहरूको उद्धारको निम्ति उनीहरूको योग्यता एवं आवश्यकता अनुरूप विशेष पूजा तथा विभिन्न अभिषेक पनि साधनको द्वारा मार्गमा अघि बढ्न योग्यता प्रदान गर्नुहुन्छ । त्यही अनुरूप साधकहरूले धारणा तथा ध्यानद्वारा एवं सतसँग, सत शास्त्रको अध्ययन, मनन, चिन्तनद्वारा आफूमा भएको अज्ञान नाश गर्दै आफ्नो स्वरूप प्राप्त गर्न सफल हुने गर्दछन् ।