पर्व विशेष पूजा, प्रवचन तथा साधना शिविर
गुरुपूर्णिमा, कृष्ण जन्माष्टमी, दुर्गा पूजा साधना, लक्ष्मीपूजा साधना, दत्तात्रय जयन्ती, शिवरात्री, गुरु जन्मोत्सव, संस्थाको स्थापना दिवस र ग्रह शान्ति पूजाहरू तोकिएको तिथि एवं दिनमा विशेष कार्यक्रमका साथ सद्गुरुदेव परमहंस आचार्य योगिराज बालकृष्णानन्द 'मुक्त बुद्ध' ज्यूद्वारा प्रवचन एवं साधना शिविर संचालन हुने गर्दछ ।
गुरु पूर्णिमाः
गुरु पूर्णिमा सनातन धर्म संस्कृति हो । आदिगुरु परमेश्वर शिव दक्षिणामूर्ति रूपमा सम्पूर्ण ऋषिहरूलाई शिवज्ञान प्रदान गरेको दिनको सम्झनामा आषाढ शुक्लपक्षको पुर्णिमाको दिनलाई गुरु पुर्णिमा भनिन्छ । सो दिन आफ्ना प्रथम गुरु (माता-पिता), गायत्री मन्त्र प्रदान गर्ने गुरु, दीक्षा मन्त्र दिने गुरु वा सद्गुरु लगायत सम्पूर्ण शिक्षा प्रदान गर्ने गुरुहरूलाई नमन, पूजा वा सम्झना गरी कृतज्ञता ज्ञापन गर्दै आशीर्वाद लिने मुख्य पर्वका रूपमा गुरुपूर्णिमा मनाइन्छ ।
गुरुर्ब्रह्मा गुरुविष्णुः गुरुर्देवो महेश्वरः । गुरु: साक्षात परब्रम्ह तस्मै श्रीगुरवे नमः ।।
ध्यानमुलं गुरोर्मूर्ति पूजामूलं गुरो पदम् । मन्त्रमुलं गुरोर्वाक्यं मोक्षमुलं गुरु: कृपा ।।
'गु' को अर्थ 'अन्धकार' र 'रू' को अर्थ 'प्रकाश' हो । ज्ञान नजानेर अन्धकारमा भड्कि रहेको व्यक्ति (शिष्यले) लाई यथार्थ ज्ञान दिएर उस्को जीवनलाई प्रकासित गरि अन्धकारलाई हटाइदिने गुरु हो । गुरु पुर्णिमाका दिन ज्वागल शाखामा विशेष कार्यक्रमका साथ भक्तहरुबाट भजन, गुरु किर्तन, पूजा तथा सद्गुरुदेव परमहंस आचार्य योगिराज बालकृष्णानन्द 'मुक्त बुद्ध' ज्यूद्वारा आशीर्वचन सत्सङ्ग गरि भव्यताका साथ मनाउने गरिन्छ ।
श्रीकृष्ण जन्माष्टमी :
विवाह उत्सवकै समय देखिनै जेलमा राखिएका माता देवकी र पिता वासुदेवका आठौं सन्तानका रुपमा द्वापर युगको अन्त्यतिरको भाद्र कृष्ण अष्टमी तिथिको मध्यरातमा मधुरामा जन्मनु भएका भगवान श्रीकृष्णको सम्झनामा जन्माष्टमी पर्व मनाइन्छ ।
भगवान विष्णुको राम अवतार आदर्श अवतार हो भने कृष्ण अवतार अलौकिक एवं कर्मावतार पनि मानिन्छ । जन्मको दिनमै जन्मकालमै अलौकिक तिला रच्दै माता देवकी र पिता वसुदेवलाई आफ्नो दिव्य रुपको दर्शन गराउनु भएको थियो । बालक कालमै पूतनाको दुध पान गरि मार्नु, हराएका गाईबाच्छा जस्ताको तस्तै श्रृष्टि गरेर छल गर्ने ब्रह्माजीलाई सवक सिकाउनु, इन्द्रको पूजा नगरी गोवर्धनमा पुजा गर्ने गोकुलवासीलाई दुःख दिने इन्द्रले वर्षाएको अविरल वर्षावाट बचाउन गोवर्धन पर्वत आफ्नो कान्छि औंलामा उठाई इन्द्रको क्रोध र आभिमान लाई झुक्न बाध्य पारेको, रास लिला मार्फत गोप र गोपिनीहरुको उद्धार गरेको । काका अक्रुरलाई आफ्नो रूप, रथ र यमुना एकै साथ देखाउनु जस्ता यि र यस्तै अनेक प्रसंगमा सामान्य मानव भन्दा भिन्न अलौकिक शक्तिवान तथा दिब्यताका साथ आफ्ना भक्तहरूलाई साक्षात्कार गराई दिने अलौकिक लिला गर्ने भगवान श्रीकृष्ण साक्षात भगवानमा हुनुका साथै षड्ऐश्वर्य सुसम्पन्न भएको देखिन्छ । ति छ ऐश्वर्य हुन् :- ऐश्वर्य (धन-सम्पति), धर्म, किर्ति, पारलौकिक क्षेय आर्जन, ज्ञान र वैराग्य ।
ऐश्वर्यस्य समग्रस्य धर्मस्य यशसः श्रियः । ज्ञानवैराग्ययोकचैव षSणां भगः इतीरितः ||
श्रीकृष्ण जन्माष्टमीका दिन कुनै एक शाखामा विशेष कार्यक्रमका साथ भक्तहरूबाट कृष्ण भजन, कीर्तन, पूजा तथा सद्गुरुदेव परमहंस आचार्य योगिराज बालकृष्णानन्द 'मुक्त बुद्ध' ज्यूद्वारा प्रवचन सत्सङ्ग गरि भव्यताका साथ मनाउने गरिन्छ ।
हरेक वर्ष नवरात्री भर नवदुर्गा भवानीको विशेष साधना गरी मनाइने गरिन्छ । विजया दशमीको दिन परमहंस योगीराज स्वामी बालकृष्णानन्द “मुक्तबुद्ध”ज्यूलाई शुभकामना टक्र्याउन र उहाँको बाहुलीबाट टीका ग्रहण गर्न साधक साधिकाहरूको ठूलो घुईचो लाग्ने गरेको छ । उक्त अवशरमा श्री नवदुर्गा भवानीको पूजा अर्चना र साधनाको लागि विजया दशमी तथा दिपावली विशेषांक प्रकाशित गर्ने गरिएको छ । उक्त विशेषांकमा लक्ष्मी पूजाको समयमा श्री महालक्ष्मी देवीको विशेष साधना गर्नको लागि सामग्रीहरू पनि प्रस्तुत गर्ने गरिएको छ ।
हरेक वर्ष मार्ग २० गते नगरकोट, तेलकोटमा स्थापना गरिएको दत्तात्रय भगवानको मन्दिर प्रांगणनमा श्री दत्तात्रय देवको जन्म जयन्ती विधिवत् पाठ पूजा साधना गरी भव्यताका साथ मनाउने गरिएको छ । उक्त अवसरमा स्थानीय वासीहरूको ठूलो सहभागी हुने गरेको छ ।
शिवरात्री :
भगवान शिवजी यस लोकको दृष्टिगोचरमा सर्व प्रथम ज्योतिर्लिङ्ग स्वरूपमा प्रकट हुनु भएको समय फाल्गुन कृष्ण-चतुर्दशीनै शिवरात्री हो । यस पर्वको अध्यात्मिक तथा सांस्कृतिक महत्व अतुलनीय छ । वैज्ञानिकले यस रात उत्तरी ध्रुवमा गुरुत्वाकर्षणको असाधारण बहाव हुने कुरा प्रमाणित गरेका छन् । सायद त्यसैले होला यस रातमा प्रकृतिले सम्पूर्ण जीवलाई आफुतर्फ आकर्षण गर्दछ । यसै अध्यात्मिक शक्ति आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई सो दिन रातभर जाग्राम बसेर शिवरात्री पर्व मनाइने सांस्कृतिक चलनलाई वैज्ञानिक रूपमा ब्याख्या गरेको पाइन्छ ।
हिन्दूहरूका आराध्य देव भगवान शिव छिट्टै प्रसन्न गराउन सकिने हुँदा 'आशुतोष' भनि पूजा आराधना गरिन्छ । भगवान शिव अनादि, अनन्त, सर्वव्यापक र सनातन हुनुहुन्छ । सम्पूर्ण चराचर जगतको श्रृष्टि, पालन र संहारका निमित्त ब्रह्मा- विष्णु-महेश त्रिविध स्वरूपधारी भगवान शिव नै हुनुहुन्छ । निष्काम वा सकाम कर्म गर्नेहरुलाई यो व्रत उत्तम मानिएको छ । सबै वर्णाश्रममा रहने व्यक्तिले श्रद्धा पूर्वक शिवरात्रीको व्रत गर्नाले मनोकांक्षा तत्काल प्राप्त गर्ने सामर्थ्य प्राप्त हुन्छ भनी शिव महापुराणको कौटिल्य संहितामा यस्तो लेखिएको छ:-
शिवरात्रिव्रतादन्यन्नास्ति नृणां हितावहम् । एतत व्रतं तु सर्वेषां धर्मसाधन मुत्तमम् ।।
निष्कामानां सकामानां सर्वेषाञ्च नृणां तथा । वर्णानामाश्रमाणाञ्च स्त्रीबालानां तथा हरे ।।
भगवान शिवतुल्य आशुतोष अन्य देवता छैनन् । त्यसैले आफ्ना आराध्य देवको पूजा-उपासना गर्न दिन विशेष पर्खनु पर्दैन । जो सदा सत्य, जगतका आधार, निर्विकार र करुणासागर हुनुहुन्छ, वहाँको गर्न समयको कुनै पावन्दी छैन, प्रत्येक क्षणलाई शुभ मुहूर्तका रूपमा लिन सकिन्छ।
सम्पूर्ण विद्या तथा कलाका आदि आचार्य भगवान शंकर हुनुहुन्छ । डमरुको नाद मार्फत महेश्वरसूत्रवाट ब्याकरण र संगितको उत्पतिकर्ता, र नृत्यका विधायक, आयुर्वेद, धनुर्वेद, आगम, निगम (श्रुति) शास्त्र आदि समस्त ज्ञानको प्रवर्तक शिववाटनै देवता र लोकते प्राप्त गरेको शास्त्रप्रमाण छ जो वेद र ओमकारको उद्गम हुनुहुन्छ । शिवरात्रीका चार प्रहरमा भगवान भिवको पूजा गर्ने विधान रहेको छ।
महाशिवरात्री पर्वको उपलक्ष्यमा थानकोट आश्रममा बिहान ९ बजे देखि शिव पुजा, भक्ति संङ्गित साथै सद्गुरूदेव परमहंस आचार्य योगिराज बालकृष्णानन्द 'मुक्तबुद्ध' ज्यूको मुखारविन्द बाट 'शिव महिमा' विशेष प्रवचन तथा रातमा शिव धुनि जगाई जाग्राम सहित भव्यताका साथ कार्यक्रम गरि मनाउने गरिएको छ ।
राम मर्यादा पुरुषोत्तम हुनुहुन्थ्यो । रामको प्रत्येक कार्य नीतिसम्बत धर्मपरायण भएको पाइन्छ । रामले गुरुकुलमा शिक्षा आर्जन गरेपछि समस्त तीर्थ भ्रमण गर्नुभयो र त्यहाँ फर्किएपछी वैराग्य प्राप्त भयो तब उहाँ एकान्तमा कसैलाई नभेटीकन खानपान नै छाडेर बस्नुभयो । वशिष्ठ ऋषिको सल्लाह अनुसार ब्रम्ह सभाको आयोजना भयो, त्यतिखेर विश्वामित्रको सल्लाह अनुसार वशिष्ठ गुरुले रामको प्रत्येक प्रश्नको उत्तर दिनुभयो । जसको फलस्वरूप रामले पूर्णब्रम्हज्ञान प्राप्त गरि आफ्नो नित्यात्मा स्वरूपमा प्रतिष्ठित हुनुभयो । उहाँको जीवनकालमा उहाँले राजधर्म, पितृधर्म, भातृधर्म, पतिधर्म र गुरुधर्मको पूर्णरुपमा पालन गर्दै समस्त प्रजामा न्यायपूर्वक राज्य गर्नुभयो । ऋषि, महर्षि, योगी, सन्त, महात्माहरुमा मर्यादा राख्नुहुन्थ्यो । आफ्नो गुरु विश्वामित्र र वशिष्ठमा पूर्णरुपले समर्पण तथा गुरुको आज्ञालाई पूर्ण शिरोपर गर्नुहुन्थ्यो ।
उहाँको जीवनकालमा अनेकौं समस्या आए । पिताको आज्ञाअनुसार १४ बर्ष वनबास जानुपर्यो, त्यहाँ पनि रावणले सीतालाई हरण गर्यो । तब सीताको खोजीमा जाँदा रावणद्वारा घाईते जटायु बाट रावणले सीतालाई हरण गरेर लागेको कुरा थाहा भयो । त्यसपछि उहाँको अगस्त्य ऋषिसंग भेट भयो र सीता हरण भएको वृतान्त सुनेपछि अगस्त्य ऋषिले रावण शिवजीको वरदानबाट गर्भित र अति बलशाली रहेको बताउनुभयो । यो मानवदेहद्वारा रावणलाई मार्न सम्भव छैन, देहलाई दिव्यदेह बनाएर शिवजीको आराधना गरी पाशुपत अस्त्र प्राप्त गरेर मात्र रावणलाई वध गर्न सकिन्छ भन्ने सल्लाह दिनुभयो । त्यसपछि अगस्त्य ऋषिले मानवदेहलाई दिव्यदेह बनाउन विर्जामार्गबाट दीक्षा दिनुभयो । रामले शिवलिंग स्थापना गरेर १ महिना फलफुल, १ महिना वायुमात्र आहार गरी शिवजीको तपस्या गर्नुभयो । शिवजीको विराटरुप प्रकट भई रामलाई पाशुपतास्त्र लगायत सबै देवीदेवताबाट दिव्य हतियारहरु प्रदान भयो र रामले शिवजीसँग हजुरको वरदानबाट गर्भित रावणलाई मार्नको निम्ति आज्ञा माग्दा भाग्यवान व्यक्तिलाई मात्र मदिरापानमा रमेको र परस्त्री प्रति कुदृष्टी राख्ने शत्रु मिल्दछ । रावणको अवस्था यहि नै छ त्यसैले तिमीले रावणलाई सहज मार्न सक्नेछौ भनी बरदान दिनुभयो । रामले हनुमान सहित बाँदरहरुको सहायताबाट सेतुपुलको निर्माण गरी लंका प्रस्थान गरी धर्मपूर्वक युद्द गरी रावणको वध गर्नुभयो ।
राम पूर्ण जीवनकालमा पितृभक्ति, मातृभक्ति, भातृभक्ति, स्त्रीप्रेम, गुरुभक्ति, प्रजाप्रतिको मर्यादा पालन, शत्रुप्रति समभावनामा रही नीतिपूर्वक रही आफ्नो आत्मामा स्थित हुनुभएको थियो । त्यसैले उहाँलाई मर्यादा पुरुषोत्तम राम भनिन्छ । त्यसैले हामी श्रीराम भगवानको पवित्र गुणहरुलाई मनन गर्छाैँ । प्रत्येक मानवले उहाँको जीवनबाट सिकेर व्यवहारमा उतार्ने कोशिश गर्नुपर्छ अनि आत्माराम बन्न सकिन्छ । उहाँका गुणहरुलाई सम्झँदै हामी राम नवमी पर्व जप, पूजा, भजन, कीर्तन गरी मनाउँछौँ ।