सबै धर्मको साधन - अष्टांग योग

सबै धर्मको साधन - अष्टांग योग

सच्चिदानन्द भगवान्‌को जय !

योग आर्यावर्तको अमूल्य सम्पत्ति हो । वास्तवमा भन्ने हो भने समस्त दर्शनशास्त्र महर्षिहरुको योग विद्याकै चमत्कार हो । स्मृति, पुराण, आयुर्वेद चिकित्सा, ज्योतिषादि शास्त्र, समस्त विद्या योगाभ्यासजन्ये ऋतम्भरा प्रज्ञाको मधुर र मनोहर फल हो।

यदि व्यक्तिले कुनै पनि कार्य सफल पार्नु छ भने एकाग्रतामै आउनु पर्दछ । श्रुति भन्दछ - " धर्म चर" धर्मको अनुष्ठान गर । यो अनुष्ठान तीन अंगमा विभक्त छ - यज्ञ, तप र दान । यसमा पनि मुख्य स्थान यज्ञको छ-

यज्ञदानतपः कर्म न त्याज्यां कार्यमेव तत् ।
यज्ञो दानं तपरश्चैव पावनानि मनीषिणाम् ॥

यज्ञ, दान, तपस्यारूप कर्म त्याग्नु हुँदैन । त्यो कर्तव्य नै हो । त्यो कर्म नगरे विद्वानले बाहिर गर्ने पावन कर्म नै के छ र ?

उक्त कर्म गर्न भगवान्‌को आदेश छ-

आरुरुक्षोर्मुनेर्योगं कर्म कारणमुच्यते ।
योगारूढस्य तस्यैव शमः कारणमुच्यते । ६ । ३

योगमा आरुढ हुने इच्छा भएका मुनिका निम्ति निष्काम कर्म कारण छ, त्यो योगारूढ व्यक्तिका निम्ति मानसिक शान्ति कारण हुन्छ ।

उक्त तीन यज्ञ, दान, तप मध्ये यज्ञलाई प्रथम स्थान दिनु भयो । यज्ञ तीन प्रकारको छ- कर्म यज्ञ, उपासना यज्ञ र ज्ञान यज्ञ । यी त्रिविध यज्ञ केबल योगमा अवलम्वित छ ।

१) कर्म यज्ञ - अनन्त क्रियाहरुमा अवलम्वन छ- यस क्रियाहरुमा वेद मन्त्रको उच्चारणमा शब्द, वर्ण र स्वरको मूल हुने हृदय, यस विषयमा जानकार व्यक्तिको जरुरी छ ।

२) उपासना यज्ञ - यमा भने भक्तिलाई जीवनी शक्ति र योगलाई शरीर मानेको छ । जुन प्रकार शरीर बिना आत्माको कुनै पनि भोग सिद्ध हुन सक्दैन, ठीक उपासनाको कुनै पनि अंश योगको सहायता विना निष्पन्न हुन सक्दैन ।

जस्तो सर्वव्यापक जीवको हृदय विहारि परमात्मा, विविध वृत्तितरङ्गहरुले गर्दा अन्तःकरण रूपी जलाशयमा चञ्चल हुन पुग्दा मानिसको हृदयमा नै हराउँदछ, यही मानवको परमात्माबाट टाढा हुनु हो। यदि साधकले उपाय कौशलद्वारा आफ्नो अन्तःकरणको समस्त वृत्तिहरु शान्त गर्न सके भने परमात्मा प्रकट हुनुहुन्छ, अर्थात् जस्तो जलाशयमा परेको सूर्यको प्रतिविम्व जब वायु स्थिर हुन जान्छ तब स्पष्ट दर्शन हुन्छ, त्यस्तै परमात्मा पनि जीवनको समीपमा हुन्छ । यहि शान्त चित्तमा परमात्माका प्रादुर्भावरूप समीप अवस्थाको समदन क्रियाकलापको नाम नै उपासना हो। चित्त शान्ति योग विना कठिन मात्र नभई असम्भव पनि हुन्छ।

३) ज्ञान यज्ञ - यो पनि योग विना आत्मा लाभ गर्न असमर्थ छ । बृहदारण्यकोपनिषद-मैत्रेयी ब्राह्मण “ आत्मा वा अरे द्रष्टव्यः श्रोतव्यो मन्तव्यो निदिध्यासितव्यः ।

अरे आत्माको नै दर्शन, श्रवण, मनन र निदिध्यासन गर्नु पर्दछ । यस वचनद्वारा श्रवण-मनन सदृश निदिध्यासनलाई आत्मासाक्षात्कार को साधन मानेको छ।

निदिध्यासन ध्यानको नामान्तर हो । ध्यान नै महान योग भवनको सप्तमा सोपान हो । अब निश्चित भयो कि विना योग कुनै पनि यज्ञ विशेषतः ज्ञान यज्ञ सम्पन्न हुन सक्दैन । त्यसैले योगी यज्ञ वल्क्य लेख्दछन्-

यदि हामीले श्रृति, स्मृति पुराणतिर ध्यान दिने हो भने समस्त यज्ञहरुको सिद्धि योगबाट नै सम्भव छ भनेको छ । यदि कुनै पनि व्यक्तिले ध्यान समाधि सिद्ध गर्न चाहन्छ भने सर्वप्रथम यम र नियमको महाव्रत पालन गर्नु नितान्त आवश्यक छ । जबसम्म यो महाव्रतको पालन गर्दैन तबसम्म ध्यान समाधि कदापि सिद्ध हुन सक्दैन । यदि यम र नियममा कसैले नियम मात्र पालना गर्छ भने पनि अभिष्ट सिद्ध हुँदैन।

यमान् सेवेत सततं ननित्यं चनियमान् बुधः ।
यमान् पतत्यकुर्वाणो नियमान् केवलान् भजन् ॥ - मनुस्मृति

"बुद्धिमान पुरुषले नित्य निरन्तर यमहरुको पालन गर्दै नियमहरुको पालना गरोस्, केवल नियमहरुको मात्र हैन, जसले यमहरुको पालन नगरी केवल नियमहरुको गर्दछ त्यो साधन पथबाट गीर्न जान्छ केवल नियमहरुको मात्र हैन, जसले यमहरुको पालन नगरी केवल नियमहरुको गर्दछ त्यो साधन पथबाट गीर्न जान्छ ।”

Download