विभिन्न सम्प्रदाय अथवा विभिन्न व्यक्तिहरुले कहीँ भक्तिलाई मात्र प्राथमिकता दिएको पाईन्छ कहीं आत्मालाई मात्रै । कहीं आत्मा नै म हुँ भनेर जानु नै भक्ति मानिएको छ । कतै भगवान नारायणलाई प्राथमिकता दिएको पाईन्छ, कहीं भगवान शिवजीलाई । धेरै शास्त्रहरु पढिरहेका व्यक्तिहरुलाई त भ्रम हुन्छ भने नपढेको व्यक्तिले त झन् बुझ्नै सक्दैन । यी सबै कुराहरु सजिलो तरिकाले जान्नु पर्दछ र यो नै सनातन धर्म हो । सगुण उपाय गरिराखेको व्यक्ति रहेछ भने उसले लोकलोकान्तरको मात्र विचार गर्ने हुन्छ अरु साधन जान्दैन । जो व्यक्ति आत्माको खोजितिर लागिराखेको हुन्छ उसलाई पनि भ्रमहरु पैदा भैराखेको हुन्छ, अभिमान आएको हुन्छ र अहंकार आएको हुन्छ । अरुले गरेको भक्ति पनि यिनीहरुलाई बेठीक लाग्न सक्छ । यो सबै कुरा विचारणीय छ, विचार गर्नु पर्ने हुन्छ।
क्रम योगमा गणपति, सूर्य, देवी, भगवान शिव र विष्णु पञ्चदेवताको उपासना गर्ने चलन छ । अधिकांश रूपमा यसैको प्रचलन अहिले पनि चलिराखेकै छ । जुनसुकै कार्य गर्दा पनि यसलाई लिएको पाईन्छ । तर अर्को पक्ष छ जसले अरु केही गर्नु पर्दैन आत्माको ध्यान गर्ने, आत्माकै चिन्तन गरे पुग्छ भन्छन् । अब यहाँ पनि भ्रम आईपुग्यो । तपाई हामीले यो कुरा बुझ्नु पर्यो कि संसारमा सबैले सगुण पनि मानेका छन् र निर्गुण पनि मानेका छन् । कसरी त भन्दा चाहे आत्माको लागि होस् चाहे निराकारको लागि, गुरु मान्न त पर्यो, पर्यो कि परेन ? हो, अनि गणेश भनेको सगुण हो कि होइन ? गणेश पनि गुरु हो । भगवती पनि गुरु हो । कैयौं उपदेश दिनु भएको छ तपाई देवी भागवत् हेर्नुस् सारा उपदेश दिनु भएको छ भगवतीले । हो अनि देवी गुरु हो कि होइन ? भगवान नारायणले, विष्णुले कैयौं ज्ञान दिनु भएको छ । भगवान कृष्णले अर्जुनलाई महाज्ञान दिनु भयो भने उहाँ गुरु हो कि होइन ? हो त्यस्तै ब्रह्मा पनि गुरु किनभने ब्रह्माजीले नारदलाई त्यत्तिकै उपदेश दिनु भएको छ कैयौंलाई उपदेश दिनु भएको छ । त्यसकारण सत्यतथ्य कुरा बुझ्नको लागि भेद नराखिकन ज्ञान गर्नु पर्दछ ।
भगवान शिवजीबाट अनन्त विभूतिहरु निस्किए । १९ औं कल्पमा सद्योजातबाट चारवटा पुत्र सङ्कल्पबाट पैदा हुनु भयो । त्यस्तै गरी २० औं कल्पमा वामदेवले उपदेश गर्नु भयो, अघोरले २१ औं कल्पमा र ईशान प्रकट भएर ईशानले उपदेश गर्नु भयो । ईशानको ४ गुरु हुनुहुन्छ । भगवान कृष्णको गुरु शिवजी, भगवान रामको गुरु शिवजी । रामले चार महिना गरेको उपासना फल शिवगीता नामले प्रसिद्ध छ । रामलाई शिवगीताको ज्ञान दिनुभयो । कृष्ण भगवानलाई, तपस्या गरेपछि, शिवले आफ्नो आश्रम कैलाशमा लिएर गएर उपमन्यु गुरुबाट प्राप्त कैयौं ज्ञान सिकाउनु भयो । अब यसो भन्नुको तात्पर्य के रहेछ त भन्दा पूर्ण काम, पूर्ण रुप, पूर्ण अवस्थामा स्थित पूर्ण स्वरुप अलौकिकरुप धारण गर्न सक्ने, विभिन्न अवतार लिन सक्ने, त्यो तत्त्व कुनै मानवद्वारा मर्ने होइन, ब्यवहारिक दृष्टिकोणको लागि मात्रै राखिदिएको हो । जस्तो कृष्णलाई ब्याधाले मारेको त्यहाँ पाइन्छ । कृष्णको रूप चाहीँ सृष्टिको क्रममा सङ्कल्पले सृष्टि रचिसकेपछि कुनै कारणले श्राप पायो भने अथवा कुनै कारणले परब्रह्म परमेश्वरका विभूतिहरुले वचनवद्ध गराई दिए भने त्यो वचनको पालन उनीहरुले पनि पृथ्वीमा आएर गर्नुपर्छ । परब्रम्ह परमेश्वरको नीतिमा रहेर ती समस्त देवी देवता त्यसैको आधारमा चलेका हुन्छन् र यही सत्य तत्त्व नै निरञ्जन निराकार सत्यस्वरूप परमात्मा हो। उसैको डरले, उसैको आधारमा रहेर जति पनि विभूतिहरु पैदा भए उनीहरुले त्यो नीतिलाई अङ्गीकार गरेकै कारणले उनीहरु परम् हुन गएका पाईन्छन् । यी सबै कुरा बुझेर अभ्यास गर्नुपर्छ।
सनातनमा पनि रहने अनि निर्लेप पनि रहने त्यस्तो तरिकाले जानुपर्छ । यो कुरा सिक्नु पर्छ, थाहा पाउनुपर्छ अनि भ्रम हुँदैहुँदैन । वेदान्त सिके पनि भ्रम हुँदैन, भक्तिमा गए पनि भ्रम हुँदैन । जुनसुकै परम्पराबाट योगमा गए पनि भ्रम हुँदैन । भ्रम रहित भएर जानुको नाम नै पूर्ण अवस्था प्राप्त गर्नु हो अर्थात् पूर्ण कुरालाई जान्नु, यथार्थ कुरालाई बुझ्नु, यथार्थ कुरा थाहा पाउनु हो ।
भक्ति नगरिकन एकाग्र हुन सकिदैन । चाँडै एकाग्रता प्राप्त गर्न कपिल गीतामा भनिएको छ - यम नियम सम्पन्न भएर जसले मेरो भक्ति गर्दछ र यम नियमबाट परिस्कृत भएको चित्तद्वारा, मनद्वारा अथवा बुद्धिद्वारा यदि ममा तन्मयता प्राप्त गर्न सक्यो भनेदेखिन् उसलाई शिघ्र साक्षत्कार हुन्छ । कपिलदेवमा त्यो सर्वज्ञता शक्ति छ अनन्त रूपको शक्ति छ, नित्यतृप्तको शक्ति छ बोधतत्त्वको शक्ति छ, सर्वज्ञत्व शक्ति छ । उहाँमा अणिमा, लघिमा, गरिमा, महिमा, प्रकाम्य, ईशित्व, वशित्व, सर्वज्ञत्व आदि गरेका अष्टसिद्धिहरु छन् । किन भयो त यस्तो शक्ति उहाँसंग भन्दा उहाँहरुको त्यो दिव्य रूप परमात्माबाट पूर्ण छ । यदि तपाइले ब्रह्मरूपको भक्ति गर्नु भयो भने तपाईलाई कसैले केही गर्न सक्दैन । किन भने उहाँ नै तपाईको जीउमा सम्पूर्ण रूपले पूर्ण भएको हुन्छ । त्यसकारण, चाहे तपाई निराकारको भक्ति गर्नुस् चाहे आत्माको चिन्तन गर्नुस् सनातन धर्मलाई जस्ताको तस्तै राख्नुस् । सनातन धर्म मानव विपरित धर्म होइन ।
सनातन भन्ने शब्द कुनै सम्प्रदायमा कुनै महात्माले राखेको होइन । कुनै ऋषिले राखिदिएको होइन । सनातन भन्ने शब्दको नाम स्वयं शिवद्वारा प्रणित परमब्रह्म परमेश्वरद्वारा मिलित शब्द हो । उहाँले राख्नु भएको शब्द हो । त्यही शब्दलाई नै भगवान कृष्णले नित्य सर्वत्र स्थानमा अचल सनातन भन्नुभयो । सनातन भनेको परब्रम्ह हो, परमेश्वर हो, सनातन भनेको नित्य हो, सत्य हो, सनातन भनेको पूर्ण हो । परिपूर्ण छ भनेपछि, सनातन धर्म भनेको सनातन तत्त्वलाई प्राप्त गर्नुको निम्ति जुन नीति नियम छ त्यसमा रहेको जुन क्षमा, दया, सरलता, परोपकार, मुदिता, यम, नियम छ यी सबैको हामीले जुन धारणा गर्दछौं त्यही सनातन हो । त्यो निराकार स्वरूप, पूर्ण रूप सनातन तत्त्व नै परमात्मा हो ।
उही परमब्रम्ह परमेश्वर परमात्मा नै पहिलो प्रकटरुपमा शिव र आदिशक्ति बन्नुभयो आदिशक्तिबाट शिवको पुरूषोत्तम रूपमा प्रकाश रूप पैदा भई परमात्माको निराकार विन्दु प्रकट हुन्छ त्यसमा कुनै प्रकाश छैन । त्यसो भएको हुनाले त्यो प्रकाश नभईकन प्रकाशित मात्र भएको हुनाले त्यसलाई सेतो रङ्गमा आएर शिवजीले सेतो पहेँलो भगवतीमाता र त्यसको त्यो कालो स्वरूप निल गगन स्वरूप भएको हुनाले त्यसमा स्वयं श्यामवर्ण कालरूपमा अवतरित हुनुभो ।
ब्रह्म जो छ त्यो ब्रह्म तपाई हामीसंग पनि छ । सहस्रारमा शिव, मूलाधारमा शक्ति, हृदयमा जीवात्मा । तपाई जुन आत्मा भन्नुहुन्छ त्यही हो नारायण ( त्यही हो शिव, त्यही हो दुर्गा) त्यो महाजीव छ र पनि अनन्त रूपमा आईसक्यो, अनन्त लीलामा, माया भनेकै यही हो । शरीर भनेको मायाले बनेको जड प्रकृति अर्थात् अपराप्रकृति हो । अनि पराप्रकृति शक्ति जो भगवान परमात्मा हुनुहुन्छ त्यसैले नै तपाई हाम्रो शरीर बनेको हो, त्यो भन्दा बढी छैन।
त्यसैले, हामीले मात्र चारवटा कुरालाई जान्नुपर्छ । एउटा शरीरलाई जान्नु पर्यो, अर्को आत्मालाई जान्नुपर्यो, अनि शक्तिलाई जान्नु पर्यो र परमशिवस्वरूप भगवानलाई जान्नु पर्यो । अनि त्यसपछि जसबाट यो सब भएको छ, जसबाट र जसको आधारमा आधारित छ, जसबाट संचालित छ, जसको आधार नभईकन कुनै पनि बस्तु चल्न सक्दैन त्यो रूपको आधार स्वरूप निराकार भगवान पनि तपाइसंगै साथमा छ भनेर पनि जान्नु पर्यो ।
सचिदानन्द भगवानको जय !