सच्चिदानन्द भगवान्को जय, मानवले कर्मयोगको ज्ञान राम्रोसँग गर्नुपर्ने हुन्छ। कर्मको गति असाध्यै गहन छ, विशाल पनि छ । यसलाई बुझेर यदि कर्म गर्न थाल्यो भने सहजै परमगति प्राप्त हुन्छ । कर्म नगरीकन संसार मा कोही व्यक्ति रहन सक्दैन ।
नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः ।
शरीर यात्रापि च ते न प्रसिद्धयेदकर्मणः ॥ ३८ गीता ॥
अर्थात् तिमी शास्त्र विधानले नियत गरिसकेका स्वधर्म रूपी कर्म अवश्य गर । कर्म नगर्नु भन्दा कर्म गर्नु नै असल हुन्छ । कुनै कर्म नगरेको खण्डमा तिमीलाई शरीर निर्वाह गर्न समेत अत्यन्त कठीन पर्नेछ । यानि नियत गरिएको कर्महरु लिएर संसारमा व्यक्ति जन्मिसकेपछि त्यो कर्म गर्न उ बाध्य पनि हुन्छ । प्रकृतिको गुणबाट परवश भएर पनि उसले कर्म गर्दछ । प्रकृतिको गुण भनेको सत्व, रज, तम हो । यी गुणहरुको आधारबाट पनि व्यक्ति कर्म गर्दछ । जसरी निदाउँदा समस्त कर्महरु अव्यक्तमा जान्छन् त्यतिखेर सत्त्व, रज, तम गुण पनि अव्यक्त अवस्थामा रहन्छन् । जब विउँझिन्छ तब व्यक्ति जस्तो छ त्यही अनुसारको गुण प्रादुर्भाव हुन्छ । तामसिक विचार भएको व्यक्तिको तामसिक गुण, राजसिक विचार भएको व्यक्तिको राजसिक गुण र सात्विक विचार भएको व्यक्तिको सात्विक गुण हुन्छ । यसलाई गुणत्रय भनिन्छ । यसैको वशमा समस्त प्राणीहरु हुन्छन् । त्यसैले अब हामीले त्यो गुण कर्म जो छ त्यसलाई राम्ररी जान्नुपर्दछ । ब्रह्माजीले पनि सम्पूर्ण संसार कर्मको आधारले नै सृष्टि गर्नु भएको छ । कर्म गरेर नै व्यक्तिले एक अर्कामा परस्पम्भावयन्तम् राखिएको छ। जस्तो हामीले यज्ञ गर्यौं भने त्यो यज्ञको प्रभाव देवताहरुमा पुग्ने, जल वृष्टि हुने, अन्न आउने, यस्तो सबै नियमहरु यज्ञरूपी कर्ममा विधान बनाएर राखिएको छ । गीतामा कर्मको विषयमा बडो राम्रो किसिमले व्याख्या गरिएको छ । कर्म विषय बडो राम्ररी जान्नु पर्छ । हामीले कर्मको महिमा किन राम्ररी बुझ्नु पर्छ त भन्दा शरीर निर्वाहको निम्ति पनि व्यक्तिले कर्म नगरिकन बस्न सक्दै सक्दैन । कर्म गर्नै पर्ने हुन्छ । द्वन्दबाट रहित भएर जे प्राप्त हुन्छ, जे आई लागेको छ, आफ्नो कर्ममा जुन अवस्था आईपरेको छ, लाभ हानी जस्तो छ, सुख आओस् दुःख आओस् त्यसमा समभाव राखेर कर्म गर्न सिक्नु पर्छ ।
कर्मको स्वरूप पनि बुझ्नु पर्ने हुन्छ । कर्म, अकर्म र विकर्म ३ किसिमको कर्महरु हुन्छन् । जुन कर्मबाट हामीलाई फल प्राप्त हुन्छ त्यसलाई कर्म भनिन्छ। कर्मफललाई त्याग गर्नुलाई अकर्म भनिन्छ । विकर्म भनेको चाहि निषिद्ध कर्म हो जुन गर्न हुँदैन । जस्तो हामीले दुराचार गर्नु हुँदैन, दुश्कर्म गर्नु हुँदैन, अरुलाई मार्नतिर लाग्न हुँदैन, अरुको अहित गर्न पछि लाग्न हुँदैन । यिनीहरु सबै विकर्ममा पर्दछन् अर्थात् अर्कोलाई दुःख दिनु, ठग्नु, मार्नु सबै विकर्ममा पर्दछन् । फल इच्छा, आशक्ति, कामना राखेर जो पनि कर्म गरिन्छ त्यो कर्म हो । फल इच्छा आशक्ति कामना नराखिकन हामी जो निष्काम कर्म गछौं त्यो अकर्म हुन्छ। त्यसैले त गीतामा भनिएको छ-
कर्मण्यकर्म य: पश्येदकर्मणि च कर्म यः ।
स बुद्धिमान मनुष्येषु स युक्तः कृत्स्नकर्मकृत् ।।४।१८।।
अर्थात् जसले कर्ममा अकर्म, अकर्ममा कर्म देख्छ त्यही नै बुद्धिमान मानिस हो र ज्ञानी हो । त्यस्तो योगी पुरुष सबै कर्म गर्नमा समर्थ हुन्छ।
अब यहाँ कर्मलाई अकर्म, अकर्मलाई कर्म देख्ने कसरी यो कुरा थाहा पाउनु पर्यो । आशक्ति रहित भएर जुनसुकै कर्म गरिन्छ त्यो कर्म सकर्म नै हुन्छ । त्यो कर्म फलको त्यागले फल भोग्नु पर्दैन । आशक्ति रहित भए हामीले फल भोग्नु पर्दैन । आशक्ति रहित भएर हामीले जो यज्ञ यज्ञादि गछौं, जो सत्संग पनि गर्दछौं जो देवार्चन पनि गर्दछौं यी साराका साराकर्महरु जे जति छन् ती कर्मको फल भोग्नु पर्दैन याने कर्म बन्धनमा पर्दैन । पहिले पहिलेका महात्माहरुले पनि, ज्ञानी कर्मेष्टीहरुले पनि, जनक आदि सन्त राजाहरुले पनि यही बुझेर निष्काम कर्म गरेका थिए । कर्म छोडेर छोडिँदैन किन भने व्यक्तिको खान लाउन व्यवहार चलाउन सबैको लागि उसले कर्म गर्नु पर्ने हुन्छ । उसको मनले पनि कुनैन कुनै कमै गरिराखेको हुन्छ, त्यो पनि कर्म हो, बुद्धि चित्तले जे गर्छ त्या पनि कमै हो । सुकर्मले सुखभोग र दुष्कर्मले दुःख भोग गर्नु पर्छ । भोग रहित कर्मले मुक्ति दिन्छ, त्यसैले निष्काम गर्नुपरेको छ । अब हामीले कुनै पनि कर्ममा फल इच्छा आशक्ति राख्नासाथ बन्धनमा पर्छौं । यदि तपाईको कर्म आशक्तिमूलक भईदियो, तपाईहरुको मन विषय सुख भोगमा विचरीरहन्छ भने त्यो कर्म बन्धनमा पर्छ । हामीले भित्र अन्तर गहिराईबाट, सांसारिक भोगको लालसा राखेनौं भने हामीलाई बन्धन हुँदैन । त्यसैले हामी नीति नियम र यथार्थ सत्यमा आधारित भएर हिँड्नु पर्छ, विचार गर्नुपर्छ र कर्म पनि गर्नुपर्छ ।
हामीले ध्यान गर्नु पनि कर्म हो, जप, पाठ, सत्संग गर्नु पनि एक किसिमको कर्म हो । तर यी कर्ममा श्रेष्ठता के छ त भन्दा यी कर्मले मुक्तिदायकको भूमिका राख्दछ । यदि उसले परमात्माको ज्ञान प्राप्त गर्ने, आत्म ज्ञान गर्ने, ब्रह्मज्ञान गर्ने इच्छा राखेको छ भने त्यो कर्म पनि अकर्ममा परिणत हुन्छ।
कर्ममा अकर्म, अकर्ममा कर्म देख्ने व्यक्ति भने बुद्धिमान हो, त्यो योगी हो र ज्ञानी पनि हो । कर्म र अकर्मको कुरा जसले जान्दैन उसले हरि भक्ति गरेपनि, राम भक्ति गरेपनि, कृष्ण भक्ति गरेपनि, शिव भक्ति गरेपनि मुक्ति पाउन गाह्रो हुन्छ । भगवान् कृष्ण भन्नु हुन्छ मेरो लागि यो जगतमा कुनै कर्तव्य कर्म छैन, मलाई अप्राप्त बस्तु पनि कुनै छैन । मैले जे इच्छा गर्छु त्यो सबै पूरा हुन्छ केही गर्नु छैन मलाई, तर पनि हेर अर्जुन म यो लोकमा कर्ममै वर्ता गर्दछु, म कर्मैमा रहेर सबै गरी राखेको छु । किनभने आफूभन्दा ठूलाले जस्तो कर्म गर्दछन्, त्यस्तै कर्म अरुले गर्दछन् ।