योग मानव जीवनको आत्मा र परमात्माको भेद हटाई स्वसंवेद्य स्वरूपानुभावमा स्थित परमपदमा प्रतिष्ठा गर्ने अमोघ रत्न हो । योग परमात्माको अनुभूति, प्राप्ति अथवा सिद्धिको परमोपाय महान् समुद्र हो, कल्पवृक्ष हो, राजमार्ग हो।
“नदीमुखेनेव समुद्रमाविशत् ।”
जसरी समस्त नदीहरूको गति जुन प्रकार अन्ततः समुद्रमा नै पुग्दछ त्यस्तै योग विद्याका विविध साधन प्रणालीको गति अन्ततः सच्चिदानन्द परमात्मामा एकीभावमा अवस्थित गराउँदछ । जसको फलस्वरूप प्राणको निरन्तर स्थिरता मनोवृत्ति, चित्तवृत्ति, बुद्धि- अहंको स्पन्दनशीलताको लय पूर्णरूपले चैतन्यमा अवस्थित गराउने हुँदा योग समस्त निरपेक्ष सार्वभौम स्वरूप प्राप्तिको महान कल्याणकारी महत्तत्व पनि हो।
योग सवै साधनको मूल जरा र सर्वोत्कृष्ट धर्म जगतको एक मात्र महापथ हो । किनभने योग साधनको पूर्णता सिद्धिबाट साधक सर्वसिद्धि र सर्वज्ञान सम्पन्न बन्न जान्छ । तव व्यक्ति समस्त धर्मको मूल निश्चिन्त हुन पुग्छ । किनकि निश्चिन्त हुन पुग्नु पनि योग हो । शिवजी भन्नुहुन्छ -
“सर्वचिन्तापरित्यागो निश्चिन्तो योग उच्यते ।”
अर्थात् समस्त चिन्ताको परित्याग गरेर निश्चिन्त अवस्था प्राप्त हुनु योग हो । निश्चिन्त व्यक्ति तब बन्दछ जब आफ्नो मूल स्वरूप परमात्मामा पूर्णरूपले अबस्थित हुन पुग्दछ । पूर्ण स्वरूप प्राप्त गर्न शास्त्र र गुरु उपदेशित मार्ग अनुरूप पूर्ण योगको साधन प्रणाली ठीक ठीक संग जीवनमा उतारेर अगाडि बढ्नु पनि नितान्त आवश्यक छ । त्यसैले बिधिपूर्वक आफ्नो चित्तको सबै वृत्ति प्रवाहलाई रोक्नु या हटाउनुको नाम पनि योग भनेर पतञ्जलिले पनि भनेका छन्।
“योगश्चित्तवृत्तिनिरोधः ।"
वासना र कामनाले लिप्त चित्तलाई वृत्ति भनिन्छ । त्यस वृत्तिको प्रवाह जाग्रत, स्वप्न र सुषुप्ति यी तीन अवस्थामा मनुष्यको हृदयमा प्रवाहित भई रहन्छ । तर चित्त भने सदा सर्वदा आफ्नो स्वभाविक अवस्थामा जान प्रयत्नशील हुन्छ । समस्त इन्द्रियहरू भने आफ्नो बाहिरको विषय शब्द, स्पर्श, रूप, रस र गन्धको तर्फ आकर्षित गर्न खोज्दछ ।
त्यस चित्तवृत्तिको प्रवाहलाई रोक्नु याने बाहिर निस्कने प्रवृत्तिको निवृत्ति गर्नु र सच्चिदानन्द परमात्मामा स्थिर गराउनु योग हो । व्यक्तिको चित्त स्थिर भएमा वीर्य स्थिर हुन्छ, वीर्य स्थिर भएमा प्रकृत ज्ञानको उदय हुन्छ । त्यसैले चित्तको (अन्तःकरण) शोधन गर्नु नितान्त आवश्यक छ । चित्त शोधन योग विद्याको क्रमिक साधन-पद्धतिबाट सहजै हुन्छ । जस्तो जलाशयमा अनेक तरङ्ग शान्त हुन गएमा र सबै फोहोर सफा भएमा आफ्नो मुख लगायत जलाशयको गहिराइ पनि सहजरूपले थाहा पाउन सकिन्छ । त्यस्तै प्रकार आफ्नो निजस्वरूपको ज्ञान र सर्वव्यापक परमात्माको अनुभव योगाभ्यासरूपी साधनबाट सहजै प्रत्यक्ष, परोक्ष तथा अपरोक्ष अनुभूति सिद्ध हुन्छ । जसको फल शुद्ध, बुद्ध, प्रबुद्ध, मुक्त स्वयं ज्योति स्वरूप सच्चिदानन्द शिवलाई नित्य प्राप्त गर्दछ ।
त्यसैले पूर्ण योग प्राप्त गर्न अष्टांग योग साधनाको अभ्यासद्वारा सबै चित्तको वृत्तिहरूको निरोध गरी एकाग्रता प्राप्त गरेर ज्ञान सुसम्पन्न हुनु एवं ज्ञानद्वारा मुक्ति हुनुपर्छ । ज्ञानद्वारा नै परमसत्य स्वरूप परमात्मामा पूर्ण स्थित हुन पुगिन्छ । तर त्यस पवित्र मुक्तिदाता परमज्ञान योग सिवाय अन्य शास्त्रहरूमात्र पढनाले मात्र प्राप्त हुन सक्दैन।
“ अनेकशतसंख्याभिस्तर्कव्याकरणादिभिः ।
पतिता शास्त्रजालेषु प्रज्ञेया ते विमोहिताः ॥ " योग बीज ८
अर्थात् अनेकौं तर्कशास्त्र र व्याकरणादि अनुशीलन पूर्वक मानवगण शास्त्र जालमा फसेर केवल विमोहित हुन्छन् । वास्तवमा प्रकृत ज्ञान योगाभ्यास बिना उत्पन्न हुँदैन । योग मानव जीवनको लागि अति मूल्यवान रहेको कुरा शास्त्रले स्पष्ट निर्देश गरेको छ । तर मानव यस यथार्थ मार्गमा अगाडि नबढी अन्य अन्य बाटोमा हिड्नाले धेरै घुमाउरो मार्गमा परी रहेको पाइन्छ । योग मार्ग यथार्थ र स्पष्ट मार्ग हो । यो व्यवहारिक र तर्क जालरहित मार्ग छ । योग मार्गमा यस्तो शक्ति छ जसको बारेमा कुनै कल्पना नै गर्न नसकिने हुन्छ । एक त योग मार्गका विविध साधनाको रहस्य बताउन हजार जिब्रा भएका शेषनाग, सरस्वती, ब्रह्मा, विष्णु र महेशको पनि सामर्थ्य छैन । अरुको त के कुरा भो र ? योग साधनको क्रमिक साधनाले शरीरमा कुनै पनि रोग लाग्न दिँदैन । यदि कुनै कारणले लाग्न गएमा मधुमेह, ब्लड प्रेशर, प्रमेह, लिकोरिया, नसारोग, पाण्डुरोग, समस्त पेटको रोग, मुटुको रोग, फोक्सोको रोग, लिभरको रोग, कमलपित, ग्यास्ट्रिक, कण्ठ रोग जस्ता अनगिन्ती रोगको समूल रूपमा निवारण गर्न योग एक महान महौषधी पनि हो भन्दा कुनै फरक नै पर्दैन । विना औषधी शरीरजनित रोग निवारण गर्ने महत्वपूर्ण कसि हो भने हुन्छ । साथै मानसिक रोग समेत निवारण गर्दछ । समस्त विकृत भावनाको निवारण गरेर व्यक्तिको मनको दुर्वलता, बुद्धिको जडता, चित्तको आशक्तिपन सवै निवारण गरेर व्यक्तिलाई शुद्ध बनाएर बुद्धत्व प्राप्त गराई, मुक्त बनाएर शिवत्व अवस्थामा प्रतिष्ठित बनाउने महान् चमत्कारी बिद्या नै योग विद्या हो भन्ने मलाई शतप्रतिशत विश्वास पनि छ ।