योगसिद्धिका लागि भावाचार

योगसिद्धिका लागि भावाचार

योग मानव जीवनको अमूल्य निधि हो । मानवले योगबाट नै परमात्मालाई सहज रूपले प्राप्त गर्न सक्दछ । योगबाट शारीरिक, मानसिक, भावनात्मक सबै विकृतिहरुको निवारण गर्न सकिन्छ । त्यसैले योग मानव जीवनको लागि परमात्मा स्वरूप हो । यहाँहरुले योग बारेमा राम्रो किसिमले सम्झनु भयो, बुझ्नु भयो र धारण गरिदिनु भयो भने यहाँहरुको परमकल्याण अवश्य नै हुन्छ किनभने हामीले कुनै पनि लक्ष्य प्राप्त गर्नको लागि ज्ञानको आवश्यकता छ ज्ञानले हामीलाई लक्ष्यको बोध गराउँछ, त्यसको दिग्दर्शन गराउँछ । परमात्माको स्वरुप ज्ञानले देखाई दिन्छ । योगले त्यसमा स्थिति गराईदिन्छ । यदि ज्ञान त छ तर योग छैन भने व्यक्ति अपूर्ण हुन्छ । त्यसैले ज्ञानको पूर्णत्व नै योगबाट सिद्ध हुन्छ । त्यसकारण योगको पूर्णत्व प्राप्त गर्नको निम्ति भक्तिको पनि अति महत्व हुन्छ । भक्तिबाट सहज योग सिद्ध हुन्छ । योग भनेको हाम्रो शरीर हो । ज्ञान र भक्ति दुवै पखेटा हुन् । यो दुईटै सिकेर गएमा हामीले पूर्णत्व प्राप्त गर्न सक्दछौं भन्ने कुरा पनि यहाँहरुले पूर्ण रूपले स्वीकार गर्नु पर्दछ र अब हामीले गम्भीर रूपमा विचार गरौं कि अध्यात्म ज्ञान नै एक परमसत्यको ज्ञान गर्ने महान् पथ हो।

मानव अन्तष्करणमा अनेक संस्कार हुन्छन् । त्यही विभिन्न संस्कार जम्मा हुनको कारण जीवन जन्मभावमा पुग्छ र यथार्थ सत्य जान्न सक्दैन । जन्म जन्मान्तरको संस्कार अनुसार हामीहरुमा त्यस्तो भाव रहेको हुन्छ किनभने बच्चैदेखि हामीलाई सत्य ज्ञानको साटो सांसारिक ज्ञानको बारेमा जानकारी दिइन्छ । त्यसैले गर्दा हामीभित्र सांसारिक भाव भई राखेको हुन्छ । भावना भनेको कुनै पनि शक्तिको भण्डार हो । भावनाबाट नै समस्त शक्तिहरुको उदय हुन्छ । जसले जस्तो भावना गर्छ उसले त्यस्तै शक्ति प्राप्त गर्दछ । मान्छेको जस्तो आन्तरिक भावना हुन्छ उसको बाहिरी क्रियाकलाप पनि उस्तै हुन्छ । जस्तो बिज रोपिन्छ, त्यस्तै विरुवा उत्पन्न हुन्छ । हामीले मकै रोपेर धान फल्दैन । आत्माले पनि जस्तो भावना गर्छ ऊ त्यही अनुरूप हुन जान्छ । उसमा अरु कुनै पनि चिजहरु घुस्न पाउँदैन त्यसैले हाम्रो भावना विशुद्ध बनाउनु जरुरी छ । भगवान् कृष्णले पनि दैवी गुण हुनको लागि जोड दिनुभएको छ।

अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोगव्यवस्थितिः ।
दानं दमश्च यज्ञचश्र स्वाध्यायस्तप आर्जवम् ।। १६.१ ।

अभय हुनु, अन्तष्करणको शुद्धि, ज्ञानयोग प्राप्तिको लागि दृढ स्थिति, दान गर्नु, इन्द्रिय दमन गर्नु, यज्ञ गर्नु, शास्त्रहरु पढ्नु शतशास्त्रको अध्ययन गर्नु, तपस्या गर्नु, सरलता भाव गर्नु भन्नु भएको छ।

अहिंसा सत्यमक्रोधस्त्यागः शान्तिरपैशुनम् ।
दया भूतेष्वलोलुप्त्वं मार्दवं हीरचापलम् ।। १६.२।

अहिंसा भावना गर्नु, सत्यमा स्थित हुन जानु, क्रोध नगर्नु, त्याग गर्नु अर्थात् त्यागेर जीवन यापन गर्न सिक्नु, सदा शान्त हुनु, कसैलाई पनि चुकली नगर्नु प्राणीमात्रमा दया राख्नु, कुनै कुरा देखेर पनि लोभी नहुनु, कोमलता हुनु, लज्जा हुनु, व्यर्थ चेष्टा नगर्नु भन्नुभएको छ । अर्को श्लोक पनि उहाँले भन्नु भएको छ ।

तेजः क्षमा धृतिः शौचमद्रोहो नातिमानिता ।
भवन्ति सम्पदं दैवीमभिजातस्य भारत ।। १६.३।

तेज, क्षमा, धैर्य, शौच, अद्रोहमा नित्य रहनु । यी सबै गुण दैवी शक्तीमा जन्मेकाको लागि हुन् । हामीले पनि दैवी शक्ति प्राप्त गर्नुपर्छ । क्षमा, सन्तोष, दया, परोपकार, करुणा, प्रेम, सहानुभूतिले ओतप्रोत भएर सदा सुखी हुन पुग्नुपर्दछ । यदि हामीमा स्वार्थ, कपट, काम, क्रोध, लोभ, मोह, अहंकार रुपी भावना भयो भने हामी दुःखी हुन पुग्दछौं । हाम्रो स्वभाव पशुतुल्य हुन्छ । त्यो पशुतुल्यताबाट माथि उठ्नु नितान्त आवश्यक छ ।

जसको जस्तो भावना हुन्छ उसको त्यस्तै नै सिद्धि मिल्ने हुन्छ । त्यसैले हामीले पवित्र भावना गर्नु नितान्त आवश्यक छ किनभने भावना नै मनको धर्म हो । “भावस्सु मनसः धर्म" भाव मनको धर्म हो । भावनाबाट नै परमात्माको परम सत्य ज्ञान उपलब्ध गर्न सकिन्छ । भाव मनको विषय हुँदा भावद्वारा अपार शक्तिको अनुभव हुन आउँछ । त्यस परमपद प्राप्त गर्नको निम्ति शास्त्रमा भनिएको छ :

भावेन लभते सर्वम् भावेन देव दर्शनम् भावेन परमं ज्ञानम् ।

भावले नै सबै थोक प्राप्त गर्न सकिन्छ । भावनाको दृढताले देव दर्शन हुन्छ । भावनाले नै ज्ञान प्राप्त हुन्छ । शास्त्रमा भावनाद्वारा परमत्माको सगुण निर्गुण सबै प्राप्त हुन्छ भनिएको छ । भावशब्द र ज्ञान शब्दको अवस्था बुझ्नुपर्दछ । भावबाट नै हामीले त्यो वास्तविक तत्त्व प्राप्त गर्न सक्दछौं । भगवान् परमात्माले उहाँको वास्तविक स्वरूप प्राप्त गर्नको लागि १५ अध्यायमा स्पष्ट भन्नुभएको छ ।

ततः पदं तत्परिमार्गितव्यंयस्मिन्गता न निवर्तन्ति भूयः ।
तमेव चाद्मं पुरुषं प्रपद्मे यतः प्रवृत्तिः प्रसृता पुराणी ।। १५.४।।

ब्रह्म पद राम्रै गरी खोज्नु पर्दछ, नखोजी हुँदैन । तपाई हामी जन्म्यौं र खोज्न लागेनौं भने वास्तविक तत्त्व पाउन सक्दैनौं । किनभने त्यहाँ गएकाहरु फेरी फर्केका छैनन् त्यो ब्रह्म पद प्राप्त गरी सकेपछि । अतः जुन परमेश्वर बाट यो संसार वृक्षको उदय भएको छ । 'म त्यहीं नारायणको शरण पर्दछु' । यस्तो भन्दै वास्तविक त्यो पद खोज्नु पर्दछ । खोज्नको निम्ति पनि व्यक्तिको विशेष अवस्था हुनु पर्दछ भन्ने कुराको संकेत गर्नुभएको छ।

Download