दिव्य महापुर्णाभिषेक २०७२

#
#

दिव्य महापुर्णाभिषेक २०७२

कुनै पनि साधकले पूर्णत्व सिद्ध गर्नको निम्ति विभिन्न अभिषेक विधिहरुको चलन शास्त्रमा छ । जसरी एक कक्षाबाट विद्यावारिधि परीक्षा पास गर्दै अगाडि बढेर विद्यावारिधि गरिन्छ । त्यस्तै अध्यात्म जगत्मा पूर्णज्ञान, विज्ञान सम्मत ज्ञान प्राप्त गर्नको निम्ति साधकलाई साधना मार्गबाट अगाडि बढाउनको लागि अभिषेक परम्पराको चलन आएको पाइन्छ । जस्तो भनौ शाक्ताभिषेक, लघु पूर्णाभिषेक साथै दिव्य पूर्णाभिषेक प्राप्ति गर्नु अति राम्रो हुन्छ । दिव्य पूर्णाभिषेकमा घटिमा ३ दिन अन्यथा- ७ दिन अगाडिदेखि नै विशेष गुरुले नै पूजा अर्चना विधिसम्मत गर्नु नितान्त आवश्यक छ।

जसको विधान पाउन पनि अति गाह्रो छ । सिद्ध ज्ञानी गुरु मार्फत जसले दिव्य पूर्णाभिषेकको रहस्यमय पद्धति जानेको छ, त्यस्ता गुरुमार्फत अभिषेक लिनु नितान्त आवश्यक छ । यदि यो अभिषेक पाएको खण्डमा शास्त्रमा त शुद्र वैश्य, वैश्य क्षेत्रि तथा क्षेत्रि ब्राह्मण र ब्राह्मणले ब्रह्मणत्व प्राप्त गर्छ भनेर भगवान् शिवजीले निरुक्तमा बताउनु भएको छ । अर्को कुरा यस अभिषेकले अनेकौं ग्रहदोष, मृत्युसमान कष्ट, अनेकौं आपत्-विपत्हरु पर्दा सबै शमन हुन्छन् भनेर भनिएको छ । त्यसैले आध्यात्मिक ज्ञानको विकासको लागि, पूर्णज्ञान हुनको लागि, पूर्णकाम प्राप्तिको लागि, भगवान् परमात्मा परमेश्वरको अनन्न्य कृपा प्राप्तिको लागि दिव्य पूर्णाभिषेक प्राप्त गर्दा राम्रो हुन्छ । साधक भक्तजनहरुले आफ्नो जीवनको पूर्णता सिद्धिको लागि दिव्य पूर्णाभिषेकमा भाग लिनु अनिवार्यता हुन्छ ।

परमहंस योगिराज आचार्य बालकृष्णानन्द 'मुक्तबुद्ध' ज्यूबाट समस्त भक्तजनहरु उद्धारको लागि २०७२ साल मंसिर ७ देखि ९ गतेसम्म ३ दिने दिव्य महापुर्णाभिषेक तपोभूमि थानकोट स्थित परमहंस योग सेवाको परिसरमा सम्पन्न भयो । साधक साधिकाहरुलाई उद्धार होस् र गुप्तभन्दा गुप्त विषयको योग मार्गमा अघि बढ्न अधिकार प्राप्त हेतु यस दिव्य महापुर्णाभिषेक आयोजना गरिएको थियो । उक्त कार्यक्रममा धेरै साधक साधिकाहरु सहभागी हुनु भएको थियो ।