सनातन धर्मको पालन, संरक्षण र सम्बर्द्धन गर्दै समस्त जीव जीवनको कल्याणार्थ तथा काल अकाल सकल प्रकारको परलोक भएका पितृ वर्गको उद्धार हेतु परमहंस योगसेवाका प्रमुख एवं संस्थापक संरक्षण परमहंस योगिराज स्वामी श्री बालकृष्णानन्द "मुक्तबुद्ध" ज्यूको सदिच्छा अनुसार न्यूजिल्याण्ड निवासी यस संस्थाका साधक श्री गणेश तथा मिना लिंखा लगायतका साधकहरू तथा यस दिव्य सत्सङ्गधामसंग आवद्ध गुरुदेवका शिष्यहरूको समेत चाहनामा यही २०६४ साल कार्तिक १३ गते कृष्ण पञ्चमीका दिनदेखि विविध कार्यक्रमका साथ श्रीमद्भागवत महायज्ञ प्रारम्भ भयो । १३ गते पूर्वाङ्गबाट शुरू भएको उक्त कार्यक्रम १४ गते बाजागाजासाथ ५०० वटा कलश सहित यस आश्रमको यूनिफर्म दोसल्ला ओढेका साधकहरूबाट भव्य कलशयात्रा नगरपरिक्रमा गराई यज्ञस्थलमा कलश प्रतिस्थापना गराए पछि विधिवत पाठपूजा सहित भागवत पारायण प्रारम्भ भएको थियो । यस महायज्ञको प्रमुखकर्ता श्री गुरुदेव स्वयंले ग्रहण गर्नु भएकोले कार्यक्रमको महत्व अझै बढ्न गएको छ।
भागवत् महापुराणको प्रमुख पारायणकर्ता पण्डित श्री कृष्णप्रसाद सत्यालज्यू हुनुहुन्थ्यो भने पण्डित श्री मणि अधिकारीबाट पितृ उद्धारको लागि छुट्टै भागवत् पारायण भएको थियो।
उक्त महायज्ञमा दैनिक सवालाख दीप प्रज्ज्वलन, हवन, चण्डी पाठ, सकल ज्ञात-अज्ञात पितृ उद्धारणार्थ स्वामी सद्गुरुदेवबाट साधक तथा भक्तजनहरूलाई समेत उच्चारण गर्न लगाई दैनिक प्रार्थना तथा प्रवचन, भजनकीर्तन जस्ता अति श्रद्धाभक्तिपूर्वक कार्यक्रमहरू सुसम्पन्न भयो । उक्त महायज्ञमा २५ जना साधकहरू पूर्ण व्रतालु हुनुहुन्थ्यो भने अन्य श्रोता तथा भक्तजनहरू दैनिक हजारौंको संख्यामा थिए।
पहिलो चरण
२०६४ कार्तिक १३ गते प्रारम्भ गरिएको महायज्ञ २०६४ कार्तिक २० गते विभिन्न कार्यक्रमहरूका साथ सम्पन्न गरियो । समापनका दिन यज्ञमण्डपमा ब्रह्मपूजा, आरति तथा आराधित अन्य देवीदेवताहरूको विशेष पूजा आराधना पछि हवन कुण्डमा विभिन्न देवी देवताहरूलाई निश्चित हवनको कार्य गरियो । लक्ष हवनको पूर्णाहुती परमहंस योगसेवाका संस्थापक संरक्षक परमहंस आचार्य योगिराज स्वामी श्री बालकृष्णानन्द " मुक्तबुद्ध" ज्यूको नेतृत्वमा महायज्ञमा सहभागी सम्पूर्ण साधक एवं भक्तजनहरूले भाग लिएर पूरा गरियो । हवनको कार्यपछि सोही हवनको तर्पण तथा मार्जनको विधि पूरा भएपछि यज्ञमा विभिन्न दान प्रदानको अनुष्ठान सम्पन्न भएपछि पूर्णाभिषेक गर्ने कार्य सम्पन्न भयो । महायज्ञमा स्थापित प्रेत स्वरुपका सामग्रीहरूलाई नदीमा प्रवाह गरेपछि प्रमुख आचार्यज्यूबाट सद्गुरुदेवलाई प्रसाद टक्र्याउने कार्य भयो । त्यसैगरी सद्गुरुदेव तथा आचार्यज्यूबाट उपस्थित हजारौं भक्तजनहरूलाई फूल, प्रसाद, नैवेद्य अर्पण गर्ने कार्य पनि अत्यन्त सौहार्द्रता एवं शान्त वातावरणका बिच सम्पन्न भयो । यसरी पहिलो चरणको कार्य सम्पन्न भए पश्चात् दोस्रो चरणको कार्यक्रम शुभारम्भ गरियो ।
दोस्रो चरण
दोस्रो चरणमा महायज्ञको लागि कलश स्थापना गर्नु हुने सम्पूर्ण भक्तजनहरूलाई सद्गुरुदेवबाट दोसल्ला ओढाई सम्मान गर्ने कार्य सम्पन्न हुँदा झण्डै दिनको ४ बजिसकेको थियो ।
प्रभुकृपा, महायज्ञको संफलता अथवा प्रकृतिको देन अकस्मात आकाशमा बादलको आगमन र तत्काल जलवृष्टिले सम्पूर्ण भक्तजन तथा यज्ञप्रेमीहरूलाई अचम्मित मात्र तुल्याएन सबैको मुहार खुशीले गद्गद् भएको थियो । धन्न श्रीमद्भागवत महायज्ञ, धन्न लक्ष होम, धन्न सद्गुरुदेवको संकल्प | सम्पूर्ण पितृहरूको उद्धार र प्रेत आत्माहरूको कल्याण भएको महसुस हुन्थ्यो । सामान्य फलाहार र प्रसाद ग्रहण भएपछि मञ्चको कार्यक्रम शुभारम्भ भएको थियो । सद्गुरुदेवको प्रमुख आतिथ्य र योगसेवा कार्यसमितिका अध्यक्ष श्री घनश्याम राणाको अध्यक्षतामा सञ्चालित विशेष कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि एवं भक्तजनहरूलाई स्वागत योगसेवा कार्यसमितिमा सदस्य श्री ज्ञानेश्वर खनालले गर्नु भएको थियो ।
महायज्ञको आय-व्यय विवरण प्रस्तुत गर्दै कार्य समितिका कोषाध्यक्ष श्री बलराम श्रेष्ठले महायज्ञमा खर्च भई वचत हुने रकम दत्तात्रय महायज्ञमा उपयोग गरिने व्यहोरा बताउनु भयो । आय-व्ययको विवरण अन्तिम पानामा समावेश गरिएको छ । महायज्ञका प्रमुख पण्डित श्री कृष्णप्रसाद सत्यालज्यूले आफ्नो मन्तव्य राख्ने क्रममा महायज्ञ अति सफलतापूर्वक सम्पन्न भएको, विभिन्न साङ्केतिक लक्षणहरू प्राप्त भएको र सबै धर्मप्रेमी साधकहरूको सद्भाव र सहयोग पाएको व्यहोरा खुलेर राख्नु भयो ।
स्थानिय समाजसेवी विद्वान विष्णु बस्नेतले परमहंस योगसेवा आश्रम चक्रचोक रामनगरमा संचालन हुन थालेपछि स्थानिय बागडोल, सानेपा, अफलडोल, रामनगर, धोविघाट, सुन्दरीघाट लगायतको वासिन्दाहरूलाई अत्यन्त प्रभाव परेको सुस्वास्थ्य, आत्मज्ञान र ब्रह्मज्ञानको बारेमा धेरैलाई कौतुहलता बढेको र अझ यस महायज्ञले धेरैलाई आध्यात्म चिन्तनं र चरित्र निर्माणमा सहयोग पुगेको व्याख्या गर्दै आउँदा दिनमा आफुले पनि सक्दो सहयोग गर्ने बताउनु भयो।
मन्तव्य राख्ने क्रममा वरिष्ठ पत्रकार एवं प्रधानाध्यापिका श्री मञ्जु कार्की लामिछानेले सद्गुरुको महिमाका बारेमा बताउँदै गुरुवचन र गुरु प्रेरणामा निस्वार्थ रुपले लाग्न सकेमा व्यक्तिको चौतर्फी हित र उन्नति सहजै प्राप्त हुने र जीवन सफल हुने कुरामा निर्धक्क हुन आग्रह गर्नु भयो।
समारोहमा न्यूजिल्याण्डमा बसोबास गर्नु हुने र यसै कार्यक्रमको लागि आउनु भएका श्री गणेश लिंखाले सद्गुरुदेवको न्यूजिलैण्ड भ्रमण, न्यूजिलैण्डवासी शिष्य र साधकहरूको अनुभव शिष्य तथा सद्गुरुदेवबाट प्राप्त शिक्षा र प्रेरणाबाट भएको उन्नति र सफलताको बारेमा व्याख्या गर्दै महायज्ञ संचालनमा आफू पनि सहभागी हुन पाएकोमा सद्गुरुदेव तथा आयोजकवर्गलाई धन्यवाद व्यक्त गर्नु भयो।
समारोहमा निश्चित राशी सहयोग गर्नु हुने विभिन्न महानुभावहरूलाई दोसल्ला ओढाई सद्गुरुदेवबट सम्मान गर्ने कार्यक्रम संचालन भई रहँदा विद्युत आपूर्ति बन्द भई केही क्षण रोकिनु परेको थियो । श्रेयष्कर सदस्यता सहित दोसल्ला ओढाई सम्मान प्राप्त गर्नेहरूमा श्री सिताराम के. सी., सेतीदेवी फर्पिङ, श्री कृष्णबहादुर महर्जन, सिद्धिपुर, श्री खगेन्द्र बस्नेत, सितापाखा, ललितपुर, श्री संजयध्वज कार्की, जावलाखेल, श्री निर्मला कायस्थ, कुमारीपाटी, ललितपुर, श्री शान्ति धौभडेल, कुपण्डोल, श्री सुशिलराज कार्की, सातदोबाटो, श्री प्रभातराज पाण्डे, रक्तकाली, श्री तारा वैद्य, कीर्तिपुर, चोभार हुनु हुन्थ्यो ।
यसैगरी श्री मञ्जु कार्की, लामिछाने, जावलाखेल, ललितपुर र श्री श्याम श्रेष्ठ, थानकोट, काठमाडौंलाई उत्कृष्ट सहयोग पुयाए वापत सद्गुरुदेवबाट कदरपत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । काठमाडौं कुलेश्वर हाल न्यूजिल्याण्ड निवासी श्री गणेशकुमार लिंखाज्यूलाई परमहंस आचार्य योगिराज स्वामी श्री बालकृष्णानन्द " मुक्तबुद्ध" ज्यूबाट दोसल्ला ओढाई मानार्थ सदस्यताका साथ सम्मान पत्रद्वारा सम्मान गर्दा सम्पूर्ण सभाहरू कर्तलध्वनीका साथ गुञ्जायमान भएको थियो ।
सम्मान गर्ने कार्य सकिए पछि समारोहका प्रमुख अतिथि एवं संस्थापक संरक्षण परमहंस आचार्य योगिराज स्वामी श्री बालकृष्णानन्द "मुक्तबुद्ध" ज्यूबाट आशिर्वचन प्रदान गर्दै भन्नुभयो “आज सम्पन्न महायज्ञबाट सनातन सत्यधर्मको पालनाका साथ साथै संरक्षण र सम्बर्द्धन मात्र भएको होइन समस्त मानवको हित कल्याण र शान्ति समेत भएको छ, अर्को तर्फ समस्त साधकवर्गले जसले महायज्ञको प्रारम्भमा संकल्प सहित भाग लिए उनिहरूको र दैनिक रुपमा ज-जसले आ-आफ्नो पितृवर्गको उद्धार र अकाल मृत्युबाट परलोक भएका सबै प्रकारका पितृहरूको उद्धारको कामना गरी भागवत् श्रवण गर्नु भयो, उनिहरू सबैको मनोकामना अनुरुप पितृवर्गको उद्धार भएको कुरामा विश्वस्त हुन आज्ञा भयो । विशेषत अकाल मृत्युबाट परलोक भएका तर उद्धार हुन नसकेका साधकका आफन्तहरूको उद्धार हेतु छुट्टै दुई जना ब्राह्मणद्वारा श्रीमद्भागवत पारायण पितृमुक्त पाठ, विभिन्न जप अनुष्ठान आदिको आयोजना गरिएको र त्यस्तो विधिवत प्रक्रिया संस्थात्मक रुपमा संचालन गरिएको सम्भवत यो पहिलो हो। यस्तो महायज्ञ र अनुष्ठानद्वारा सामूहिक रुपमा पितृ उद्धार कार्यक्रम गर्न ठूलो जनसहभागिता, पर्याप्त आर्थिक स्रोत, निष्ठा र अनुशासित पण्डितवर्ग, उपयुक्त दिन तिथि सबै जुट्न धेरै कठिनाई हुने हुँदो अहिले सकिएको यो यज्ञ एउटा विशिष्ट प्रकारको प्रयास भएको र यस प्रयासमा दिल खोलेर स्वदेश तथा विदेशमा बस्ने प्रवासी नेपालीहरूको समेत उल्लेख्य सहयोग प्राप्त हुन सकेकोले निर्वाध रुपमा अत्यन्त शान्तपूर्वक सम्पन्न गर्न सकिएको छ । म यस यज्ञबाट अति सन्तुष्ट भएको छु र कतिपय घटना तथा संकेतबाट पितृवर्गहरूको उद्धार भएको अनुभव गरेको छु । जो जसले जहाँबाट जति सक्यो सहयोग गर्नु भयो, सबै महानुभाव तथा साधकवर्गहरूलाई म आशिर्वादका साथ धन्यवाद दिन चाहन्छु" । कार्यक्रमको अन्तमा कार्यसमितिका अध्यक्ष तथा समारोहका अध्यक्ष श्री घनश्याम राणाले महायज्ञको बारेमा प्रकाश पार्दै यस महायज्ञसंग आवद्ध सम्पूर्ण महानुभावहरूलाई धन्यवाद अर्पण गर्दै सद्गुरुदेवमा कृतज्ञता प्रकट गर्नु भयो । उक्त कार्यक्रमको संचालन एवं उद्घोषण प्रवन्ध निर्देशक श्री अच्युतप्रसाद शर्माले गर्नु भएको थियो ।